दमक/कुनै आर्थिक सम्पन्न व्यक्तिको तामझामको भव्य कार्यक्रम भन्दा कम थिएन माहौल । गेट निर्माण गरी घरलाई पनि चिटिक्क पारेर सिँघारिएको थियो । ५ सय बढी गाउँलेहरु खुसी बोकेर स्वागतमा लामवद्ध थिए ।
बाटोमा अटाइ नअटाई १ सय बढी चारचक्के र त्यसको दोब्बर मोटरसाइकल थिए । त्यही लाममा फुलको मालै मालाले सजाएको गाडीमा थिए स-परिवार । यस अवस्थामा प्रश्न उब्जिरहेको थियो मन ठूलो हो कि धन ? यो प्रसंग आउँदा चर्चामा रहेका झापा दमकका बाल गायक अशोक दर्जीको गीत सम्झिहाल्नु भयो होला । तपाईको त्यो सम्झाई अशोककै प्रसङसंग जोडिएको शतप्रतिशत सही हो । मन सहितको धन चाँही ठूलो रहेछ भन्ने कुरा सोमवार अशोक र उनका परिवारका लागि जीवनकै सबैभन्दा ठूलो खुसीले चरितार्थ पारिरहेको थियो । दमक २ स्थित भालुखुँडीको कट्टेल टोलमा खोलाको किनारमा घाम र पानी छेक्न मुस्किल घेरावारा विनाको झुप्रोका अशोकको गायकीले यसबेला चिटिक्क परेको घर जोड्न सफल भएको प्रसंग हो यो ।
चोकमा आयोजित घर हस्तान्तरण कार्यक्रममा नेपालका प्रसिद्ध हाँस्यकलाकार हरिवंश आचार्यले मन नै ठूलो भएर मनकारीबाट धन जुटेको खुसी सुनाए । उनले भने ‘लुगा सिलाउने परम्परागत पेशामा गनिने दर्जी जातका अशोकको गायकीले जातीय विभेदलाई पनि पर हटाएर नेपालीहरुको मन सिलाएर जोडेको छ । अशोकको सृजना जातको विभेद गरेर कसैको मनमा नबसेको अवस्था छैन । यो मनकै उपज हो ।’ अनि उनले अशोकलाई औपचारिक शिक्षा र सांगीतिक शिक्षाको मार्गदर्शनले उनलाई गायकीमा जमाइराख्न सक्ने भएकाले त्यसतिर ध्यानदिन सुझाव दिए । त्यहाँ अशोकका फुपुहरु विमला पाँचकोटी, सिमरन पाँचकोटी सहितले अशोकको कलाको प्रवद्र्धनका लागि हजुरबुबा यमबहादुर रसाइलीमार्फत हार्माेनियम हस्तान्तरण गराए । कार्यक्रममा, चलचित्र निर्देशक सोभित वस्नेत, पत्रकार ऋषि धमला, उर्लावारीका शिक्षासेवी दीपक न्यौपाने, धरानका युवा चिन्तक रमेश प्रसाई सहितले बोल्दै विपन्न परिवारमा भएको प्रतिभाले ठूलो मन भएका नेपालीहरुका कारण सम्मान पाएको उल्लेख गरे । ऋषिले २५ हजार, भैरहवाका देवबहादुर बराल मगरले १० हजार, रमेशले आफुले त्यहाँ पाएको ५ हजार अशोकलाई प्रदान गरे ।
अरु अरुले पनि सहयोग थपे । चोकको सांगीतिक सहितको औपचारिक समारोहमा दमक नगर प्रमुख रोमनाथ ओलीले अशोकले गाएको चर्चित गीत ‘धनविनाको मन ठूलोकी मन विनाको धन’ गाएर कार्यक्रम शुभारम्भ गरे भनें कलाकार आचार्यले घरमा भएको भव्य कार्यक्रममा घरको उद्घाटन् गरे । चोकको कार्यक्रमपछि कार्यक्रमस्थलबाट फुलमालाले सजाइएको गाडीमा राखेर अशोकका बुबा पूर्ण, आमा ललिता, १ दिदी र २ वहिनीलाई ठूलो संख्यामा स्थानीयका साथ घर भित्र्याउने काम भएको थियो । घरमा आवश्यकीय सम्पूर्ण सरसामान किनेर राखिदिएको छ ।
गायक तथा संगीतकार टंक बुढाथोकी र उर्लाबारीका समाजसेवी पूर्ण वाइवाको अगुवाईमा सहयोग संकलन गरेर घर बनाइयो । वाइवा अध्यक्ष रहेको घर निर्माण समिति ५ लाखमा १० धुर अडेरी किनेर त्यसमा ४ कोठे इँटाको गाह्राे र टिनको छानो भएको घर निर्माण गरिदिएको छ । निर्माणमा २८ लाख ८५ हजार रुपैयाँ खर्च भएको घर निर्माण समिति कोषाध्यक्ष डीजे रुपकले कार्यक्रममा उल्लेख गरे । जसमा युट्यूवबाट ४ लाख रुपैयाँ टंकले दिने समेत २८ लाख १५ हजार रुपैयाँ देश विदेशबाट सहयोग जुटेको हो । ‘हाम्रो घर बनाइदिनु भयो, सहयोग गर्ने तपाईहरु भगवान हो हाम्रा लागि ।’– अशोकले दमक चोकमा गीत गाउँने क्रममा भने । उनी र उनीभन्दा केही साना टंकका छोरा एआर उस्तै रंगको सुटमा सजिएर संगसंगै ‘धनविनाको’ र ‘रुपै मोहनी’ गाए । गायकीको अगुवाई गरेका थिए टंकले ।
हजारौं दर्शक स्रोतामाझ टंकलाई नेपाली राष्ट्यि झण्डा ओढाएर सम्मान गरियो । अशोकका बुबा पूर्ण भन्दै थिए ‘जीवनमा यस्तो होला भन्ने सोचेको पनि थिएन । हामीलाई सपनाजस्तो लागिरहेको छ ।’ दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले भने ‘प्रतिभाले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ भन्ने उदाहरण प्रत्यक्ष देख्न पाउँदा ज्यादै खुसी लागेको छ ।’
बाबु पूर्णको अगुवाईमा जनबनी गरेर परिवार पाल्ने काम पनि व्यवस्थित हुन नसक्दा परिवारको विचल्ली थियो । छोराछोरी पढाउने कुरामा समस्या थियो । अशोक बजार, चोक गाउँदै हिड्थे । त्यो बेला सवभन्दा पहिले हिमशिखर टेलिभिजनका सुदीप अधिकारीले बेलडाँगीमा गाउँदै गरेको अवस्थामा भेटेर समाचार प्रसारण गरिदिएपछि सबैको उनमाथि चासो बढ्यो । डीजे रुपकले टंक बुढाथोकीसंग भेट गराइदिएपछि विराज नेपालले केही वर्ष अघि दिएको ‘धनविनाको’ गीत टंक र अशोकको स्वरमा रेकर्ड भयो । त्यसपछि अचम्मलाग्दो गरी अशोक चर्चामा आए र उनका दिन खुले । अशोकका खेल्ने साथी साइमन धिमाल ‘भूँइकटहर’ का लागि पनि धिमाल समुदायले सहयोग जुटाएर घर बनाउन थालेको छ ।