इटहरी/पैदल यात्रुहरुका लागि इटहरीको सडक निकै जोखिमपूर्ण रहेको छ । पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमा आवासीय क्षेत्रको विकास, पैदल यात्रु हिड्ने छुट्टै व्यवस्था नहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदल यात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।

विशेष गरी इटहरीको मुख्य चौककाे सडक पैदल यात्रु र साइकल यात्रुका लागि अत्यन्तै जोखिमपूर्ण रहेको छ । यात्रु हिड्नको लागी बनाईएको सडक पेटीहरु दिनानु दिन अतिक्रमण भईरहे पनि सम्बन्धीत पक्षले यसमा ध्यान दिएको छैन । इटहरी उपमहानगरपालिका तथा उद्योग बाणिज्य संघ इटहरी लगायत सामाजिक संस्थाहरुले समेत बाटो अतिक्रमणको बिषयमा बोलेका छैनन् ।

सडक निर्माण गर्दा पैदल यात्रुलाई भन्दा सवारी साधनलाई मध्यनजर गर्दै सडक निर्माण गरिए पनि यात्रु हिड्ने सडकखण्डमा स्थानीय बासिन्दाले सडक मनपरी अतिक्रमण गरेर भवन निर्माण गर्ने, गाडि पार्किङदेखि रिक्सा ठेला, फुटपात पसल सडकमै राख्नेजस्ता कार्य दैनिक जसो बढ्दै गएको इटहरी चौकमा भेटिएका इटहरीका स्थानीयबासी इटहरी ४ का सचिन राउतले भने । सडक पेटीमा व्यापार गर्नेहरु बढेका छन् उनीहरुलाई नगर प्रहरी लगाएर उठाउँनु पर्छ उनी भन्छन् ।

सडक साघुरिदै जानु, सडकको स्तरोन्नति नहुनु, सर्वसाधारण नागरिक सडकमै मर्निङ वाक तथा शारिरीक व्यायाम गर्नु र बजार क्षेत्रका नागरिकहरुका लागि मर्निङ वाक, जकिङजस्ता कार्यका लागि खुल्ला स्थान नभएको इटहरी ५ का होटल व्यवसायी नेत्र गिरी बताउँछन् । सडकमा पैदल यात्रु र साइकल यात्रु हिड्नका लागि अलग्गै बाटोको व्यवस्था नहुँदा पनि समस्या छ उनी भन्छन् । सडक यात्रुको लागी हिड्न बनाईएको बाटोहरु पनि फुटपात ब्यापारीले अतिक्रमण गरेका छन् उनी भन्छन् । सडकको वरपर दुबै किनारामा सडक मिचेर भवन निर्माण गर्नुजस्ता समस्या पनि उस्तै छ उनले भने । सर्वसाधारणका लागि निर्माण गरिएको नगरको मुख्य सडकका सडक पेटीलाई कब्जा गरेर पसलको सामान राख्ने, सडकपेटीमै चिया, फलफुल र तरकारी पसल राख्ने तथा मोटरसाइकल र साइकल समेत पार्किंङ गरिएका कारण हिंडडुलमा समस्या भएको छ ।सडकपेटी अतिक्रमण र सडकमा जताततै सवारी साधन उभ्याएर ट्राफिकलाई अस्तव्यस्त बनाउने गरेको उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेष बिष्टले बताए । उनले भने सडकपेटीमा व्यापार गर्नेहरुले सरकारलाई महङगो भाडा तिरेर बसेका व्यापारीहरुलाई समस्यामा छ । इटहरी चौक आसपासको क्षेत्रमा सडक अतिक्रमण बढिरहेको भन्दै यसलाई व्यवस्थापन गर्न लाग्ने इटहरी उपमहानगरपालिकाले जनाएको छ । बढ्दो सडक अतिक्रमणलाई रोक्न अभियान सुरु भईरहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन् । इटहरी चौक तथा आसपासमा सडकपेटी अतिक्रमण रोक्न एक महिना अगाडी बनेको समितिले फुटपात हटाउँन प्रतिवेदन दिएको उपमेयर गौतमले बताईन् । उनले भनिन् इटहरी चौक आवतजावत गर्न समस्या पर्न थाले पछि फुटपातमा गरेको व्यवसाय हटाउँन खोजेको हौ ।

ठेला अतिक्रमण पनि उस्तै सस्तो र जिब्रोको लागि मिठो हुने भएकाले सडक पेटीमा राखिएको खानातर्फ सर्वसाधरणको आकर्षण बढेको हो । त्यो सँगैइटहरी चौक आसपासका क्षेत्रमा फुटपात व्यवसायले सडक अतिक्रमण गरीरहेका छन् । इटहरीको मुख्य चोकहरुमा पानीपुरी, चटपटे जस्ता खानेकुरा ठेलगाढामा बेच्न राखिएको प्रसस्तै भेटिन्छ ।  सडक पेटीमा राखिएको खाने कुरा खानेको आकर्षण पनि बढ्दो छ । सस्तो र जिब्रोको लागि पनि चट्ट हुने भएकाले यस्ता खानतर्फ दिन प्रतिदिन मानिसको आकर्षण बढेको हो । व्यवायासीले पनि थोरै लगानीमा राम्रो आम्दानी गर्न सफल भएका छन् तर सर्वसाधरण हिड्ने सडक भने अतिक्रमण गरीरहदा सरकारी निकाय चुईक्क बोल्न सकेका छैनन् ।