सिरहा/ बढ्दो गर्मीका कारण सिरहा जिल्लामा दैनिकी कष्टकर बनेको छ । बिहानदेखि साँझसम्म चर्को घाम लाग्दा बढेको गर्मीले सिरहाका विभिन्न ठाउँमा सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै आएको छ । गर्मीका कारण बजारमा मानिसहरूको चहलपहल कम भएको देखिन्छ । चर्को घामको कारण घर–पसलबाट निस्कनै नसक्ने अवस्था आएको सिरहा जिल्ला मिर्चैया–६ का सुरेन्द्रकुमार महतोले बताए ।
सिरहामा चर्को घामसँगै तातो हावासमेत चल्ने गरेको छ । जिल्लामा ३० देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहेकाले खुला ठाउँमा काम गरेर गुजारा गर्ने मजदुरको जीवन झनै कष्टकर छ । तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लामा पनि बढ्दो गर्मीले जनजीवनमा असर परेको छ । अस्पतालमा गर्मीका कारण बिरामी बढेका छन् । रुघाखोकी, छालासम्बन्धी रोगीहरू धेरै आउने गरेको मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शान्ति धिमाल बताउँछिन् । गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि कतिपय विद्यालयले दिउँसोको पढाइ बन्द गरी बिहानको पढाइ शुरु गरेको मिर्चैया नगरका शिक्षा अधिकृत बुद्धिमान दनुवारले बताए ।
गर्मीले बालबालिका, ज्येष्ठ नागरिक र अशक्त सबैभन्दा बढी प्रभावित छन् ।