उर्लाबारी । ज्येष्ठ नागरिक समन्वय केन्द्र वडा नं. –१ को शनिबार भएको प्रथम साधारण सभामा दुई जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा स्थानीय १०१ वर्षिया सुकमाया माझी र ९३ वर्षीय धनवीर श्रेष्ठ छन् । केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन् । केन्द्रका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा भएको सभामा उपमेयर लक्ष्मीदेवी भण्डारी, वडाध्यक्ष मचिन्द्र कार्की, गम्भीर प्रधानलगायतले मन्तव्य राखेका थिए । यसैगरी उर्लाबारी–८ खाईबा चोकस्थित गणेश महाराजी थान मन्दिरको चौंथो साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा जग्गादाता स्वर्गीय नारायणबहादुर थापालाई मरणोपरान्त सम्मान गरिएको छ । स्वर्गीय थापाका छोरा भूपाल थापालाई सम्मान–पत्र प्रदान गरिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर भुजेलको सभापतित्व तथा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गादाता थापा र सहयोगदाता बलबहादुर राईलाई सम्मान–पत्र प्रदान गरिएको छ ।