उर्लाबारी । नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिका लागि एक नम्बर प्रदेश वरदान भएको बताएकी छन् । शनिबार उर्लाबारी उद्योग वाणिज्य महासङ्घ उर्लाबारीको ३० औं साधारण सभाको उद्घाटन अध्यक्ष राणाले विश्वको अग्लो सगरमाथादेखि होचो भूभाग झापाको केचनासम्म, नेपालमै धेरै धान उत्पादन हुने झापा र मोरङमात्र होइन किमाथाङ्का नाका देखि भारत र बङ्गलादेशसम्मको आयात– निर्यात हुने नाकासमेत यसै प्रदेशमा रहेकाले पनि आर्थिक समृद्धिको विकासका लागि समय नलाग्ने र वरदान भएको बताएकी छन् । सरकारले भाषणमा मात्र आर्थिक समृद्धिको कुरा गरेको आरोप लगाउँदै आर्थिक समृद्धिको लागि पूर्वाधार आवश्यक पर्ने अनि मात्र निजी क्षेत्रले सहयोग गर्ने बताउँदै अध्यक्ष राणाले एक नम्बर प्रदेशमा अन्य प्रदेशको तुलनामा पर्याप्त आर्थिक समृद्धिको सम्भावना रहेको बताइन् । यस प्रदेशमा पर्यटन, कृषि, जलविद्युत, धार्मिकलगायतका क्षेत्रमा लगानी गर्ने पर्याप्त सम्भावना भएको अध्यक्ष राणाले उल्लेख गरिन् । अब यसक्षेत्रतर्फ लगानी गर्न व्यवसायीलाई आग्रहसमेत गरिन् । अध्यक्ष राणाले स्थायी सरकार आएपछि आर्थिक समृद्धितर्फ मुलुक उन्मुख भइरहेको अवस्थामा व्यवसायीलाई सरकारले अनावश्यक दुःख दिन शुरु गरेकोमा आपत्ती जनाउँदै कर कार्यालयमा कर तिर्दा बुझाउनु पर्ने ब्यालेन्स सिटले निजीक्षेत्र निरुत्साहित भएको बताइन् । अध्यक्ष राणाले निजी क्षेत्रले ठूलो व्यापार घाटा सहनु परेको अवस्थामा सरकारले भाषणमा आर्थिक समृद्धिको कुरा गर्नु लज्जास्पद अभिव्यक्ती भएकाले, कर तिर्न सहज वातावरण निर्माण गर्न र बैङ्किङ ब्याज दरलाई ८ देखि ९ प्रतिशतसम्म घटाउन आग्रह गरेकी छन् । अध्यक्ष राणाले यसै विषयमा छलफल गर्न नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरीञ्जीवी नेपालसँग हुने कार्यक्रममा देशभरीबाट दबाब दिन आउन व्यवसायीलाई अनुरोध समेत गरिन् । उर्लाबारी उद्योग वाणिज्य महासङ्घ उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) को अध्यक्षतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं. १ प्रदेश सभासद कुशल साम्बा, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकाल, उर्लाबारी उद्योग वाणिज्य महासङ्घका भूपू अध्यक्ष तेजकुमार अध्यक्ष, धर्मराज शाक्य, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र ढकाल लगायतका सङ्घका केन्द्रीय, प्रदेश प्रमुख तथा सदस्यहरूले शुभकामना मन्तव्य दिएका थिए । सङ्घको सोमबार हुने निर्वाचनमा १६ पदका लागि २ स्वतन्त्रसहित ३४ जना व्यवसायीले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रजङ्ग तामाङले जानकारी दिए ।