मधुमल्ला । उर्लाबारी – रवि सडकको स्तरोन्नतीका लागि प्रयोग गरिएको स्काभेटर पहिरोले पुरेको छ । पाँच दिन सम्म पनि पुरीएको स्काभेटर बाहिर निकाल्न नसक्दा सडक निर्माण तथा स्तर उन्नती कार्यमा अबरोध पुगेको छ । मोरङ र पाँचथर जोड्ने उर्लाबारी–रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुली गाउँपालिका ६ को छालासुकुवा भन्ने ठाउँमा गत बुधबार पहिरोले स्काभेटर पुरेको हो । सडकमा काम गरिरहेका बेला खसेको पहिरोले स्काभेटर पुरे पनि कुनै मानविय क्षति भने हुन पाएन । सडक स्तरोन्नतीको काम गरिरहेको सिद्धदेवी कन्सट्रक्सन प्रालीका डाईरेक्टर हेमन्त बस्नेतले सडकको ट्रयाक सुधार गर्दै घुम्ती फराकिलो पार्ने काम भइरहेका बेला अचानक माथिबाट पहिरो खसेर स्काभेटर पुरेको बताउनु भयो । उहाँले पहिरो पन्साउन नसक्दा स्काभेटर बाहिर निकालन नसकिएको बताएका छन् । उक्त स्थानमा अहिले पनि वर्षा रोकिएको छैन भने पहिरो जाने क्रम जारी रहेको उनको भनाइ छ ।
पानी पर्ने र पहिरो जाने क्रम नरोकिएका कारण स्काभेटर बाहिर निकाल्न नसकिएको बस्नेतले बताए । लामो समयदेखि पहिरोले पुरेका कारण लाखौं मूल्य पर्ने स्काभेटर काम नै नलाग्ने अवस्थामा पुगेको हुन सक्ने उनको भनाइ छ । ‘हामीले अर्को स्काभेटर प्रयोग गरेर निकाल्ने तयारी गरेका थियौं । तर पहिरो जाने क्रम जारी रहेका कारण अर्को स्काभेटर नै घटनास्थलमा पुर्याउन सकिएको छैन,’ उनले भने, ‘चलाउँदा चलाउँदैको मेसिन पहिरोले पुरेपछि काम लाग्ने अवस्था छ जस्तो लाग्दैन । पहिलो दिनको पहिरोले थोरै पुरेको पनि निकाल्न नसक्दा त्यसपछि थपिंदै गएको पहिरोले भने अहिले स्काभेर नै देखिंदैन ।’ बस्नेतले स्थानीय बासिन्दासंग सहयोग लिएर पहिरो पन्साउँदै स्काभेटरलाई बाहिर निकाल्ने प्रयोस भने भइरहेको जानकारी दिए । तराई र पहाड जोड्ने सबै भन्दा छोटो उक्त सडकलाई पूर्वकै समृद्धिसंग जोडेर हेरिएको छ । २०२८ सालबाट तत्कालिन शिक्षा मन्त्रि नरेन्द्र प्रधानले यो सडकको ट्रयाक खोल्ने थालनी गरेका थिए । तर ४७ साल बितीसक्दा समेत अहिले सम्म पनि सडक निर्माण पूरा हुन सकेको छैन । सामान्य ट्रयाक खोलेर संचालन गरिएको सडकमा हिंउदका समयमा भने मोटरसाइकल तथा ट्याक्सी, जिप लगायतका साना सवारी साधन संचालन गर्न सकिने चुलाचुली ६ का वडा अध्यक्ष हेमन्त राईले बताए । उनका अनुसार बर्खा लागेर पानी पर्न थालेसंगै सडक गत जेठ देखि भने बन्द छ । ‘हिउँदमा साना सवारी साधन संचालन हुने गरेको थियो,’ राईले भने, ‘बर्खामा पानीले हिलाम्मे भएर पहिरोको समेत जोखिम रहेपछि सवारी साधन संचालन हुन नसक्ने भएका कारण अहिले भने सडक बन्द रहेको स्थानिय रानिधारा सामुदायीक वन का अध्यक्ष टेक बहादुर राई बताउछन्।