मधुमल्ला । दुवै मृगौला काम नलाग्ने भई उपचाररत मिक्लाजुङ–१ की २२ बर्षीया उमा गुरुङ (राई)ले आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका छन् । मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न उनले सहयोगको याचना गरेकी हुन् । आइतबार उर्लाबारीस्थित पूर्वाञ्चल बौद्ध गुम्बामा आयोजित पत्रकार सम्मेलनमा धरानस्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुवै मृगौलाले काम नगरिरहेको धरानमै पत्ता लागेको थियो । परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि शुभचिन्तक तथा शुभेच्छुकहरुसमक्ष सहयोगको हात फैलाईएको उमा गुरुङ (राई) बचाउ अभियानका संयोजक कबिन्द्र राईले बताए । उनको अनुसार उमाको उपचारमा अहिलेसम्म ४ लाख रुपैयाँभन्दा बढी खर्च भईसकेको छ । हाल बिरामी आर्थिक अभावका कारण घरमै रहेकी छन् । उमाको तीन बर्षे काखे छोरा रहेका छन् भने पति बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा छन् । सरकारले निशुल्क उपलब्ध गराएको डायलासिस सेवाका लागि अस्पतालहरुमा ठाउँ नपाएपछि महँगो शुल्क तिर्नु परेका कारण पनि खर्च बढेको उनको भनाई छ । काका ससुरा उमेश राईका अनुसार, उमालाई दिदीले मृगौला दिन लागेकी हुन् । अन्य केही गम्भीर रोगका बिरामीलाई जस्तै मृगौलाका रोगीलाई पनि सरकारले उपचारमा छुट दिएको छ । सरकारले मृगौला प्रत्यारोपणमा लाग्ने खर्च र तत्काल खाने औषधिका लागि ५ लाख ५० हजार रुपैयाँको सहुलियत उपलब्ध गराईरहेको छ । तर, प्रत्यारोपणपछि पनि बाँचुञ्जेल औषधि खानु पर्ने भएकाले मृगौला रोग बिरामीका लागि आर्थिक दृष्टिले पनि बोझिलो छ । उनको उपचारका लागि झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद उपेन्द्र घिमिरेले उमाको उपचारका लागि ब्यक्तिगत तथा प्रदेश स्तरबाट हुन सक्ने सहयोग उपलब्ध गराउने बताए । त्यस्तै, समाजसेबी मानबहादुर श्रेष्ठले पनि सहयोग गर्ने बचन दिएका छन् ।