विराटनगर । सुरक्षा गार्डको हत्या गरेको आरोपमा विराटनगर ४ जामुनगाछीका ठेला चालक २६ वर्षिय संजय सहनी पक्राउ परेका छन् । विराटनगर २ धरानरोडस्थित न्यू बिक्की हार्डवेयरमा सुरक्षागार्डको रुपमा कार्यरत विराटनगरका ५० वर्षीय टंक भट्टराईको हत्याको आरोपमा आइतबार विराटनगर १८ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । लागूऔषध प्रयोगकर्ता समेत रहेका सहनीले सुरक्षागार्डसँग सामान्य बादविाद र पैसाँको लेनदेनमा हत्या भएको प्रराम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केशीले जानकारी दिए । ‘मृतकले हार्डवेयरको सुरक्षा गर्न आउँदा ३ हजारदेखी ५ हजार रुपैयाँसम्म दैनिक बोकेर आउने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी केसीले भने, ‘पैसाको लेनदेनको विषय र एक आपसमा विभाद हुँदा सहनीले हत्या गरेको देखियो ।’ सहनीले घटना स्थलमा रहेको रड, मुङ्र्गो प्रहार गरि सुरक्षा गार्डको हत्या गरेको एसपी केसीले बताए । सहनीलाई पक्राउ लगतै प्रहरीले आइतबार साझ पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो । सहनी लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका व्यक्ति हुन् । उनीहरु बिच लामो समयदेखी चिनजान रहेको एसपी केसीले बताए । प्रहरीले यस घटनाको अनुसन्धान गर्ने क्रममा हार्डवेयरका संचालक निरभकुमार अग्रवाल सहित एक दर्जन भन्दा बढीलाई सोधपुछ गरेको प्रहरीले जनाएको छ । ‘हार्डवेयरमा रहेको सिसीटिभीको फुटेजमा पनि ठेला चालक सहनीको घटना भएको दिन ४÷५ पटक ओहर दोहर गरेको देखियो,’ एसपी केसीले भने, ‘प्रहरीले सिसीटिभी फुटेज नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो । सुरक्षागार्डको पिछा गरिरहेको कुरा सिसीटिभी फुटेजले समेत प्रष्ट पार्छ,’ एसपी केसीले भने । सुरक्षागार्डको हत्या भएको भोलीपल्टदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । भट्राईको भदौ ३ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । पक्राउ परेका सहनीलाई जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।