इटहरी । इटहरी–२० तरहरामा रहेको हाँसपोसा सामुदायिक वनमा भ्रष्टाचार भएको खुलासा भएको छ । सामुदायिक वनका अध्यक्ष कर्णबहादुर राउतले सामुदायिक वनको रकममा भ्रष्टाचार गरेको भन्दै अध्यक्ष राउतलाई निलम्बित गरी छानविन गर्न समिति गठन भएको हो । लामो समयदेखि सामुदायिक वनको आयस्रोतलाई अपचलन गर्दै आएको पाइएको हो । सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दा विभिन्न फोहोर फाल्ने संस्थाहरूले दिने रकमसमेत आम्दानीको स्रोत नदेखाई रकम अध्यक्षले अपचलन गर्दै आएको पाइएको छ । पूर्वाञ्चल ह्याचरीले सामुदायिक वन क्षेत्रमा फोहोर फालेबापत वार्षिक १८ हजार लिनुपर्ने भए पनि १० हजार मात्र लिएर अपचलन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हाँसपोसा सामुदायिक वन क्षेत्रमा ९ वटा ट्याक्टरले फोहोर फालेबापत महिनाको २५ सय सामुदायिक वनलाई दिने भने पनि उनले उक्त रकमसमेत हिनामिना गर्दै आएको पाइएको छ । त्यस्तै अध्यक्ष राउतले इन्भारो केयरले इटहरी उपमहानगरपालिकाबाट सङ्कलन गरेको फोहोर फालेबापत सामुदायिक वनलाई दिने महिनाको ३ हजार रकम अध्यक्षले लिँदै आएको, हार्डवेयर पसलबाट सामुदायिक वनका लागि भनेर ल्याएको पङ्खा, टिनलगायतका सामग्री घरमा लगेको, जडीबुटी केन्द्रबाट ढलापडा रुख ल्याएबापत दिनुपर्ने ३० हजार रुपैयाँ वनबाट लगे पनि अध्यक्ष आफैले लगेको, सञ्चो बनाउँदा लाग्ने मसला जडीबुटी केन्द्रलाई दिँदा दिने कमिसन अध्यक्षले कार्यालयमा नदेखाई अपचलन गरेको भन्दै निलम्बित गरिएको हो । अध्यक्ष राउतले जिल्ला वन तथा सेक्टर वन कार्यालयमा शौचालय तथा बाथरुम बनाउँदा भएको खर्चको बिल भरपाइ कार्यालयमा दाखिला नगरेको, अध्यक्ष राउतले आफू बिदामा बसेको दिन र कार्यालय नआएको दिनको पनि दैनिक साढे ३ सय भत्ता खाँदै आएको पाइएको छ । त्यस्तै सामुदायिक वनको साधारणसभा नजिकिँदै गर्दा सामुदायिक वनको विधान विपरीत ८४ जनालाई सदस्यता दिएको भन्दै उनीहरूको सदस्यता छानविन तथा न्यायिक समितिले खारेज गरेको छ । नयाँ सदस्य बन्दा समूहको नियमअनुसार २ हजार लाग्ने भए पनि थोरै रकममा कार्ड बनाई उक्त रकमसमेत अध्यक्ष राउतले अपचलन गरेको छानविन तथा न्यायिक समितिले जनाएको छ । २०७४ साल पुसमा साधारणसभा गर्नुपर्ने भए पनि अध्यक्ष राउतले मनपरी गर्दै आएको भन्दै सामुदायिक वनका २३ जना अन्य पदाधिकारीहरूले संयुक्तरूपमा राजीनामा दिएका छन् । सामुदायिक वनको आठै परिषद्मा अध्यक्षले मनपरी गरेको भन्दै अन्य पदाधिकारी तथा सदस्यहरूले संयुक्तरूपमा राजीनामा दिएको छानविन तथा न्यायिक समितिका संयोजक महेन्द्र गिरीले बताए । छानविन तथा न्यायिक समितिका संयोजक महेन्द्र गिरीले सामुदायिक वनभित्र व्यापक अनियमितता भएको कारण छानविनको क्रम जारी रहेको बताए । अध्यक्ष राउतले मनपरी आर्थिक अपचलन गर्दै आएको उनको भनाइ थियो । १७ सदस्यीय छानविन टोलीले वनमा भएको भ्रष्टाचारको विषयमा छानविन गरिरहेको उनको भनाइ थियो । यता आरोपित हाँसपोसा सामुदायिक वनका अध्यक्ष कर्ण राउतले भने समितिले लगाएको आरोप अस्वीकार गर्दै आफूलाई फसाउन खोजिएको बताए । ‘केही निहुँ नपाएर मलाई फसाउन खोजिएको हो, ममाथि लागेको आरोप निराधार हो’ –अध्यक्ष राउतले भने । ‘सबैलाई काठ दिँदा राउत राम्रो, नदिँदा उही राउत नराम्रो’ –उनले थपे ।