पाँचथर । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भएर बग्ने हेँवा खेलाले बगाउँदा आइतबार एक बालक बेपत्ता बनेका छन् । बेपत्ता हुनेमा हिलिहाङ गाउँपालिका–५ सुभाङका राजेन्द्र उप्रेतीका आठ वर्षीय छोरा डेनिश उप्रेती रहेको प्रहरीले जनाएको छ । सदरमुकाम फिदिम बजार स्थित गणतन्त्र चोकमा पसल गर्दै आएका उप्रेती छोरालाई लिएर बिहान दशबजे जनै फेर्न हेँवा खोला गएका थिए । जनै फेर्नुअघि नुहाउने क्रममा डेनिशलाई खोलाले बगाएको उनका बाबु राजेन्द्रले बताए । हिन्दु धर्म परम्पराअनुसार जनै पूर्णिमाको दिन नुहाएर जनै फेर्नु पर्दछ । खोलामा बेपत्ता बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।