सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० चोहर्वाबाट १५ दिनअघि अपहरित ५५ वर्षीया कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला परेको छ । नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा लाश गाडिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घरबाटै बेपत्ता भएकी महिलाको खोजी गर्र्दै देवीपुर पुगेका स्थानीयको समूहले रामदेव यादवको मामाको बाँसघारीमा खोज्दै जाँदा आलो माटो देखेपछि खनेर हेरेका थिए । कारीदेवीको मृत्यु यसकारणले भएको छ सिरहा जिल्ला अदालतबाट २४ जेठमा कारीदेवीको पक्षमा अंशसम्बन्धी मुद्दा फैसला भएको थियो । उच्च अदालतमा कारीदेवीले मुद्दा हालेपछि जेठाजु रामदेव र भतिजो लक्ष्मणले उनलाई पटक–पटक कुटपिट गर्दै आएको स्थानीय बताउँछन् । पुख्र्र्यौली सम्पत्तिको रूपमा ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये उनले १० कठ्ठा आठ धुर जग्गा पाएकी थिइन् । तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दाबीसहित ५ भदौ २०७४ मा सिरहा जिल्ला अदालतमा उनले अंश मुद्दा हालेकी थिइन् । कारीदेवी हराएको साँझ भतिजो लक्ष्मण यादवको मामाका छोरा राधेश्याम यादवसहित नाम नखुलेका अन्य दुईजना गरी चारजना मिलेर चोहर्वामा मद्यपान गरेपछि लक्ष्मण भने ससुराली जान्छु भन्दै हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बाँसघारीमा महिलाको शव भेटिएको सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शव निकालेको बताए । महिलाले लगाएको कपडाको आधारमा शव कारीदेवीको नै हो भन्ने एकिन भएको छ । उनको शव अहिले पोष्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल लगिएको छ ।