भद्रपुर । चन्द्रगढी सामुदायिक वनमा पूर्व कार्यसमिति सचिवसहित ६ जनाबाट ५ लाख ७७ हजार ४ सय १३ रुपैयाँ २१ पैसा पेश्की उठ्न बाँकी देखिएको छ । ०७४÷७५ को आन्तरिक लेखा परीक्षणबाट देखिएको २९ लाख ३४ हजार २ सय ८० रुपैयाँ २१ पैसा देखिएकोमा समितिले दुई पटक लिखित पत्राचार गरेपश्चात् २३ लाख ५६ हजार ८ सय ६७ रुपैयाँ उठाएको उल्लेख छ । अझै पेश्की उठ्न बाँकीमा समूहका पूर्वसचिव सन्तोष पोखे्रलबाट ३ लाख ६० हजार ६ सय २९ रुपैयाँ २१ पैसा, सदस्य खिलानाथ भट्टराईबाट ६४ हजार ५ सय २५ रुपैयाँ, मिल सञ्चालक शेखर कँडेल ६० हजार ५ सय ३ रुपैयाँ, काठमिल मिस्त्री अली हुसेन ३९ हजार ५ सय, कर्मचारी नूतन ढकाल ३५ हजार ७ सय ६० र सदस्य बाबुराम ढुङ्गेलबाट १६ हजार ४ सय ९६ रुपैयाँ पेश्की बाँकी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । १९ औं साधारण परिषद् सभा सम्पन्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर–९ ले १९ औं साधारण परिषद् सभा शनिबार सम्पन्न गरेको छ । समूहका अध्यक्ष हीराप्रसाद पोखरेलको सभापतित्व तथा भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा मुना सामुदायिक भवन देवकोटा चोकमा सम्पन्न भएको हो । अध्यक्ष पोखरेलले समूहको नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वर्षभरि गरिने विभिन्न प्रकारका २६ ओटा बुँदामा उल्लेख गरिएका योजनाहरु सार्वजनिक गरेका थिए । चालु आर्थिक वर्ष ०७५÷७६ मा ३ करोड ४४ लाख ३९ हजार ४० र आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि २ करोड १ लाख ७२ हजार ५ सय बराबरको बजेट विनियोजन गरिएको जनाए । त्यसैगरी आर्थिक वर्ष ०७४÷७५ मा ७ करोड ९७ लाख ७ हजार ४ सय ८ रुपैयाँ बराबरको कारोबारबाट १५ लाख २३ हजार ५ सय ७४ रुपैयाँ आयकरपछिको नाफा गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा समूहका सह–सचिव चूडामणि पराजुलीले स्वागत गरेका थिए भने प्रमुख अतिथि मेयर श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमप्रसाद पौडेल, सल्लाहकार संयोजक विष्णुकुमार शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।