रङ्गेली । विराटनगर–३ स्थित विक्की हार्डवेयरमा कार्यरत अवस्थामा हत्या गरिएका टङ्कप्रसाद भट्टराईको परिवारलाई मेरिल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । कमजोर आर्थिक अवस्था भएका भट्टराई उक्त हार्डवेयरमा सेक्युरिटी गर्डको काम गर्दै थिए । ५१ वर्षीय टङ्कको हत्या भएको जनाइएको छ । उनको एउटा आँखा निकालिएको अवस्थामा शव खाटमुनी भेटिएको थियो । भट्टराईको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको परिवारजनले जनाएका छन् । विराटनगर–४ निवासी भट्टराई परिवारमा कमाउने उनी एक्ला थिए । टङ्कका छोरी नविना, छोरा अर्जुन र श्रीमती पार्वती र ८४ वर्षीया आमा रहेका छन् । भट्टराई परिवारलाई टङ्कको १३ दिने काम गर्नसमेत आर्थिक अभावका कारण समस्या भएको छ । ८४ वर्षीया आमा दुर्गामाया भट्टराई नाति–नातिनाको भविष्यलाई लिएर चिन्तित बनेकी छन् । टङ्ककी श्रीमती पार्वतीलाई पतिको हत्याको पीडासँगै छोराछोरीको भविष्यको पीडाले सताएको छ । छोराछोरीको पढाइ अगाडि बढाउने र घर चलाउने जिम्मा उनको काँधमा आएको छ । उनी अहिले उपायविहीन अवस्थामा छिन् । परिवारमा एक्लो कमाउने भाइमात्र रहेको टङ्कका दाजु राजनप्रसाद भट्टराईले बताए । उनले भाइको हत्यारालाई एक साता बितिसक्दा पनि पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको बताए । उनले परिवारमा कमाउने कोही नभएकोले भाइका छोराछोरीको पढाइको जिम्मा सरकारले लिनुपर्ने बताए । भट्टराई परिवारको आर्थिक अवस्था कमजोर रहेको सुनेपछि आफूहरुले कलेजका साथीहरूसँग स्वेच्छिक रकम सङ्कलन गरेर सहयोग गरेको कलेजका विद्यार्थीहरूले बताए । उनीहरुले ‘स्टेपिङ आई’ नाम ८ जनाको समूह बनाएर कलेजमा आर्थिक सङ्कलन गरेको पनि सुनाए । आफूहरुको सहयोगसँगै अरुले पनि सहयोग गर्न सक्ने भन्दै थोरै भए पनि सहयोग गरेको उनीहरुले बताए । उनीहरुले भट्टराई परिवारलाई १७ हजार नगद र ३ हजार मूल्य बराबरको चामल, घिउ, चिनी, फलफूललगायतका सामान सहयोग गरे । उनीहरुले नगद र सामग्री टङ्ककी आमालाई हस्तान्तरण गरेका थिए । मेरिल्याण्ड कलेजका विद्यार्थीहरुको समूहमा इसीका नेपाल, राहुल साह, श्रेया पोखरेल, श्रद्धा पौडेल, अमृत निरौला, प्रास्ना अर्याल, अनिसा तामाङ र मनाङ हमाल रहेका छन् ।