पानवारी । धरान–१४ स्थित सिंहदेवी चोकदेखि विजयपुर चोकसम्म सडक निर्माण सम्पन्न भएको छ । सडकको शनिबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले उद्घाटन गरे । कार्यक्रममा सुनसरीका धाम नामक पुस्तकको विमोचन र सुनसरीका धामहरुको वृत्तचित्र प्रदर्शनीसमेत गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले १४ नं. वडाको विकासको योजना पुस्तिका सभामुख भण्डारीलाई हस्तान्तरण गरेका थिए । उनले धरानको १४ नं. वडा विजयपुर क्षेत्रमा रहेका धार्मिक क्षेत्रको प्रचार–प्रसार र विकास गर्नसके धरानको पर्यटनमा कायापलट हुने बताएका थिए । सिंहदेवी चोकदेखि विजयपुर चोकसम्मको १६ फिट चौडाइ भएको ५ सय २० मिटर लामो सडकमा आरसिसी ढलाइ, ड्रेन, एजिङवाल, रेलिङमार्ग निर्माण साथै सिंहदेवी चोकदेखि बालिका स्कुलसम्म ५५ मिटरमा टाली लगाइएको छ । एक करोड ३५ लाख ६० हजार खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पितरुमल अग्रवालले बताए । उनका अनुसार धरान उपमहानगरपालिकाले ६७ लाख ५२ हजार, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १५ लाख, उपभोक्ता समितिबाट ५० लाख ६ हजार र पर्यटन कार्यालय झापाबाट ५ लाख रुपैयाँ गरी १ करोड ४० लाख ३३ हजार आय भएको र खर्च भएर ४ लाख ७३ हजार रुपैयाँ बचतसमेत भएको छ ।