जिरोपोइन्ट । धरान उपमहानगरले धरान प्रज्ञा प्रतिष्ठानलाई विविध कार्यक्रमका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आ.व. २०७५÷०७६ मा प्रदान गरेको बजेटबारे आइतबार छलफल गर्र्दै प्रतिष्ठानले विविध कार्यक्रमका लागि स्रोतगत बजेट विनियोजन गरेको छ । उपमहानगरले यसवर्षका लागि बहुभाषिक कविता गोष्ठी, विभिन्न भाषा सर्वेक्षण, अभिनय कार्यशाला गोष्ठीलगायतमा बजेट विनियोजन गरेको हो । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गमञ्च दिवस, नाटक महोत्सव, अन्तर्राष्ट्रिय सङ्गीत दिवस, लोकसङ्गीत बाजा प्रशिक्षण, लोकनृत्य कार्यशाला गोष्ठी, सांस्कृतिक लोकनृत्य आदान–प्रदान, लोकनृत्य महोत्सवमा बजेट विनियोजन गरेको छ । साथै पुरस्कार तथा सम्मान कार्यक्रम, मूर्तिकला कार्यशाला, चित्रकला कार्यशाला, चित्रकला प्रदर्शनी, कार्यशाला सञ्चालन तथा सहयोग, खुल्ला कविता लोककथा प्रतियोगिता, पुस्तक तथा प्रज्ञा प्रकाशन गरी १७ वटा योजनाहरू रहेका छन् । यसका लागि नगरले २५ लाख बजेट विनियोजन गरेको प्रतिष्ठानका सदस्य–सचिव हर्क चुम्मेले बताए । यसपटक पाँचवटा कार्यक्रम २० नम्बर वडालाई लक्षित गरी तयार गरिएको उनले बताए । छलफलका क्रममा भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले १७ वटा कार्यक्रममा संस्कृति र पुरातात्विक कुरालाई अटाउन नसकेको बताए । मूर्त संस्कृतिलाई मात्रै बढी प्राथमिकता दिएकाले अमूर्त संस्कृतिले स्थान नपाएको उनको भनाइ थियो । धरानका विज्ञहरुले वैज्ञानिक ढङ्गले अर्थ विनियोजन गर्नका लागि सुझाव दिएका छन् । कतिपय व्यक्तित्वहरूको तथ्याङ्क प्रतिष्ठानले पनि नराखेकाले तथ्याङ्क सङ्कलनमा ध्यान दिनुपर्ने बताए । प्रतिष्ठानका सदस्य–सचिव चुम्मेले नगरपालिकाको नियमानुसार कार्यक्रम तय भइसकेकाले कार्यक्रमहरू फेरबदल गर्न नमिल्ने बताएका थिए ।