सिरहा/ सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित कमलाको उत्राइनी पुगेका तीन बालक शनिबार साँझ बेपत्ता भएका छन् । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर शनिबार साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आइतबार बिहान फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।

बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आइतबार बिहान बेपत्ता भएकामध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र साहले जानकारी दिए । चार जनाको समूहमा कमला नदी जल भर्न पुगेकामध्ये एकजना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीनजना कमला नदीमा डुबेर बेपत्ता भएका थिए । पहाडीक्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेकाले खोजी उद्धारमा समस्या भए पनि खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक साहले बताए । पहाडी क्षेत्रमा वर्षा भएकोले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेको छ । बालकहरू कमला खोलामा जल लिन जाँदा उनीहरूलाई खोलाले बगाएको हो । ‘नुहाउँदा नुहाउँदै उनीहरु पानी बहाव धेरै भएको ठाउँ पुगे’ स्थानीयलाई उद्धृत गर्दै डिएसपी साहले भने, ‘बेपत्ता भएकै ठाउँबाट प्रहरीले खोजी कार्य शुरु गरेको छ ।’

बगाएर उनीहरुलाई दक्षिणतिर लगेको हुनाले उद्धारका लागि जयनगरका भारतीय प्रहरीसँग पनि समन्वय भएको उनले बताए ।