इनरुवा/इनरुवा नगरपालिकाले डम्पिङ साइड निर्माणको पहल थाल्ने भएको छ ।
स्थानीय तहमा समस्या थोपरिँदै जाँदा दीर्घगामी सोचका साथ फोहोरमैला व्यवस्थापनको ठोस रणनीति बनाउन लागिपरेको इनरुवा नगरपालिकाले धनकुटा नगरपालिकाको झैं निर्माण गरेको हो । धनकुटाको सल्लेरी वनमा रहेको डम्पिङ साइड मुलुककै नमूना फोहोर व्यवस्थापन केन्द्र बनेसँगै सोको सिको गर्न पुगेको कार्यपालिका सदस्यसहित इनरुवा नगरपालिकाको टोलीले स्थानीय तहमा समेत डम्पिङ साइड निर्माणको कार्य अघि बढाउनेतर्फ पहलकदमी अघि बढाएको छ । मुलुककै सफा शहरमध्येको धनकुटा फोहोर मैला व्यवस्थापनमा समेत अब्बल ठहरिएकाले धनकुटेली शैली अपनाउँदै नगरस्तरीय ठोस योजना निर्माण गरी अघि बढ्ने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । इनरुवा नगरपालिकाले बजार क्षेत्रबाट मात्रै दैनिक ५ ट्याक्टर बढी फोहोर सङ्कलन गर्ने गरेको छ । सङ्कलित फोहोर व्यवस्थापनका लागि डम्पिङ साइड नहुँदा सुनसरी खोलामा फोहोर मिल्काउने गरिँदै आएको छ ।
कार्यपालिकासहित नगरपालिकाका सरोकारवालाहरुलाई डम्पिङ साइड बारे जानकारी गराइएकाले नगरभित्र छिट्टै व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेलले विश्वास व्यक्त गरे । विकास निर्माणमा जनप्रतिनिधिको भूमिका अहम् हुने भएकाले नगरभित्रको प्राथमिकताको विषयका रूपमा रहेको फाहोर व्यवस्थापनको समस्या बेलैमा हल हुने पोखरेलको भनाइ छ ।