इटहरी/ लायन्स क्लबले सुरक्षित गर्भपतन गराउने ठाउँका विषयमा महिलाहरुलाई जानकारी गराएको छ ।  गर्भपतन गराउने स्थानको जानकारी नहुँदा धेरै महिलाहरु समस्यामा परेकाले गर्भपतन सेवाबारे जानकारी गराइएको हो ।

लायन्स क्लब इटहरी ग्रिनसिटी तथा लायन्स क्लब अफ विराटनगरको संयुक्त आयोजनामा एक दिने जनचेनामूलक परिवार नियोजन तथा सुरक्षित गर्भपतनबारे जानकारी गराएको छ । सहभागीहरुलाई गाउँघरमै असुरक्षित तरिकाले गर्भपतन गराउनेदेखि लिएर गर्भपतन गराउन अनुमति पाएको बाहेकका ठाउँमा समेत असुरक्षित तरिकाले गर्भ पतन गराउँदा महिलाहरुले ज्यानसमेत गुमाउँदै आएको सुनाए ।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी अस्पतालका साथै मेरीस्टोपलगायतका मान्यताप्राप्त स्थानहरुमा कानूनी रूपमा गर्भपतन गर्न पाउने अवस्थाका महिलाहरुले गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञ बालकृष्ण साह, जिल्ला स्वास्थ्य कार्यालय पब्लिक हेल्थ नर्स झर्ना गिरीले सहजीकरण गरेका थिए । लायन्स क्लब अफ ग्रिन सिटीकी अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रामकुमार धमला, जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन अधिकृत धरणीधर निरौलालगायतले परिवार नियोजन तथा सुरक्षित गर्भपतनका विषयमा जानकारी गराएका थिए ।