प्रदेश १ कै ठूलो बसपार्क उदयपुरमाउदयपुर (रासस) उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं. १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ ।
बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पशुपतिकुमारी चौधरीले बताइन् । आठ बिगाहा सोह्र कठ्ठा जग्गाको बृहत् क्षेत्रफलको उक्त बसपार्कको टिकट काउण्टर हल, यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय निर्माण पूर्णरूपमा सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका सदस्य ज्ञानबहादुर राउतले बताए । उक्त बसपार्क निर्माणको लागि शहरी विकास मन्त्रालय र त्रियुगा नगरपालिकाले गरी कुल एक करोड बजेटमा बसपार्क निर्माण सम्पन्न भएको समितिका अध्यक्ष चौधरीले बताइन् । यता १ नं. प्रदेश सरकारलेसमेत बसपार्कको बाहिरी कम्पाउण्ड घेराबाराका लागि रु. २० लाख बजेट विनियोजन गरेको समितिका पदाधिकारी बताउँछन् । बरुवा बसपार्क हालको सुनसरी चतरा, गाईघाट, कटारी, हेटाँैडा हुँदै राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गलाई ध्यानमा राखेर १ नं. प्रदेशकै बृहत् र सबैभन्दा ठूलो बसपार्क निर्माण गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।