विराटनगर/नियमनकारी निकायले विराटनगरको सब्जी बजार अनुगमन नगर्दा उपभोक्ताहरु ठगिएका छन् । कृषकबाट सस्तोमा खरिद गरी विराटनगरको गुद्री बजारका व्यापारीहरुले पाँचगुणा मुनाफा राखी भान्सामा अति आवश्यक पर्ने तरकारी चर्को मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ । कृषकबाट २ रुपैयाँमा खरिद गरेको घिरौंला गुद्रीका खुद्रा व्यापारीहरुले २५ देखि ३० रुपैयाँसम्म प्रतिकिलो बिक्री गर्दै आएका छन् । बजार अनुगमन गर्ने निकाय विराटनगर महानगरपालिका मौन बसिदिँदा व्यापारीहरुले उपभोक्तालाई चर्को मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताहरु बताउँछन् ।

विराटनगरको गुद्री बजारमा अधिकांश तरकारी कटहरी गाउँपालिकामा व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरुले उत्पादन गरेको तरकारी आउने गरेको छ । उनीहरुले थोक बिक्रेतालाई ल्याएर तरकारी बिक्री गर्दछन् भने थोकले खुद्रा व्यापारीहरूलाई तरकारी बिक्री गर्दै आएका छन् । थोक बिक्रेताले निश्चित मुनाफा राखेर तरकारी बिक्री गरे पनि बिचौलिया र खुद्रा व्यापारीबाट उपभोक्ता ठगिएका हुन् । विराटनगरकी उषा न्यौपानेले २५ रुपैयाँ प्रतिकिलो घिरौंला खरिद गरेको बताइन् । ‘बजारमा तरकारीको भाउ छोइनसक्नु छ’ उनले भनिन्, ‘नियमनकारी निकायले बजार अनुगमन नगर्दा चर्को मूल्य हालेर तकारी किन्नुपरेको छ ।’ उपभोक्ताले प्रतिकिलो २५ रुपैयाँमा खरिद गरेको घिरौंला कृषकले थोक बिक्रेतालाई २ रुपैयाँमा बिक्री गरेको हो । बजारमा व्यापारीले बिक्री गर्ने दरअनुपातमा कृषकले घिरौँलामा मूल्य नपाएपछि कटहरीका कृषक चिन्तित बनेको कटहरी गापा–४ नयाँबजारका कृषक कोपिन्द्र सिंहले बताए । ‘हामीले २ रुपैयाँ प्रतिकिलो घिरौंला बेच्दा गुद्री बजारबाट २५ देखि ३० रुपैयाँमा उपभोक्ताले किनिरहेका हुन्छन्’ उनले भने, ‘त्यो देख्दा हाम्रो मन त्यसै कुँडिन्छ । यस्तो समस्या सरकारले समाधान गरिदिनु पर्दछ ।’

उपभोक्तावादी संस्था पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङ्गेलले बजार अनुगमन नहुँदा व्यापारी र बिचौलियाबाट उपभोक्ताहरु ठगिएको बताए । ‘तरकारीमा खुलेआम कालोबजारी भएको छ’ उनले भने, ‘थोक बिक्रेतादेखि बिचौलिया र खुद्रा पसलसम्म नियमनकारी निकायले अनुगमन तत्काल गर्नुपर्दछ ।’ गुद्री बजारमा घिरौंलाबाहेक अन्य तरकारी भिण्डी, लौका, खोर्सानी, बैगुनमासमेत व्यापारीले बढी मूल्य लिएको उपभोक्ताहरु बताउँछन् । यता विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले २ रुपैयाँ प्रतिकिलोको घिरौंला व्यापारीले २५ देखि ३० रुपैयाँसम्ममा बिक्री गरेका रहेछन् भने चाँडो बजार अनुगमन गर्ने बताइन् । ‘परिषद् बैठकबाट हामीले बजार अनुगमन कार्यविधि ऐनसमेत पारित गरेका छौं’ उनले भनिन्, ‘यही ऐनअनुसार चाँडै तरकारी बजारको अनुगमन गर्नेछौं । चर्को मूल्य राखेर व्यापारीले उपभोक्तालाई ठगेको गरेका पाइए नियमअनुसार कारबाही गर्नेछौं ।’