पानवारी । उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री जगदिश कुशियतले पञ्चायत कालमा सइकल चढ्दा र रेडियो सुन्दा समेत सरकारलाई कर बुझाएको स्मरण गर्दै अहिले करका विषयमा नचाहीदो व्याख्या भएको बताए ।

नेपाल सुनचाँदी कला व्यवसायी संघ सुनसरीको चौथो वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको अवसरमार सोमबार धरानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो पटक स्थानीय तथा प्रदेश सरकारको नयाँ अभ्यास भएको हुनाले कता कता समस्या भएको हुन सक्ने बताए ।

मन्त्री कुशियतले सुनचादी व्यवसायीको समस्याको विषयमा प्रदेश सरकरा जानकार रहेको भन्दै ऐन नियम बनाएर नै व्यवसायीलाई व्यवसाय गर्न सहज बनाउने बताए । मन्त्री कुशियतले सुन व्यवसायमा सिण्डिकेट, कालोबजारी, अनियमितता जस्ता समस्या अत्याधिक भएको र त्यसलाई नियन्त्रण गरी सहज बनाउन प्रदेश सरकार योजना बनाइरहेको बताए ।

नेपाल सुनचादी कला व्यवसायी संघका केन्द्रीय अध्यक्ष द्वारीका शंकरले सुन खरिद विक्रिमा सरकार आफैले सिण्डिकेट लादेको आरोप लगाएका थिए । उनले गरगहना बनाउन कच्चा पदार्थको रुपमा रहेको सुन दैनिक २० केजी मात्रै राष्ट्र बैंकले दिने गरेको भन्दै पर्याप्त सुन नदिदा कालोबजारी बढेको बताए । सांसद उमिता विकले नेपालको सांस्कृतिक तथा मौलिक कलाको रुपमा रहेको सुनका गरगहना अन्तराष्ट्रिय बजारमा लोकप्रिय रहेको बताइन् । नेपालमा बनेका गरगहना शुद्ध सुनबाट बनेको भनेर अन्तराष्ट्रिय बजारमा प्रख्यात छ, उनले भनिन् । सर्वसाधारणले सुनलाई बन्धकी राखेर आफ्ना समस्या टार्दै आएकोमा सरकारले धितो बन्धकीको कारोबार बन्द गरेपछि सर्वसाधारण र व्यवसायी मारमा परेको बताइन् ।