पानवारी । नेवार समुदायले हरेक वर्ष जनै पूर्णीमाको भोलिपल्ट एक वर्ष भित्रमा दिवंगत भएको आफन्तजनको सम्झनामा मनाइने पर्व हो । तर विगतमा नदेखिएको दृश्य सोमबार धरानमा निकालिएको गाईजात्रामा देखिएको छ । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा दिवंगत भएका व्यक्तिको फोटो बोकेर नगर परिक्रमा गर्ने प्रचलन रहे पनि यसवर्ष लिम्बू समुदायका व्यक्तिको फोटो समेत बोकेर नेवार समुदायले गाइजात्रा मनाएको छ । ‘जुनसुकै समुदायमा जन्म लिएको भएपनि स्व. मेयर तारा सुब्बा हामी धरानबासीको अभिभावक हुनुहुन्थ्यो ।’ –नेपाल खड्गी समाज धरानका अध्यक्ष मनिष खड्गीले भने । उनका अनुसार स्व. तारा सुब्बा सम्पूर्ण धरानबासीको अभिभावक हुनुभएकोले उहाँको आत्माको शान्तिको कामना गर्न उहाँको तस्बिर लिएर नगर परिक्रमा गरिएको हो । गाइजात्रा पर्व नेवारी समुदायको मात्र नभई अब सम्पूर्ण नेपालीको पर्व भएकोले पनि हामीले स्व. तारा सुब्बाको सम्झना गरेका हौ, खड्गीले भने । आफ्नो छोरोका मृत्यु भएपछि रानी शोकमा डुबेपछि राजा प्रताप मल्लले रानीलाई मृत्यु शास्वत सत्य हो । आफ्नो छोरा मात्र हैन जन्मेपछि सबैको मृत्यु निश्चित हो भन्ने कुरा महशुस गराउन गाइजात्राको शुरुवात गरेको इतिहासमा उल्लेख छ ।