भद्रपुर । झापा कारागारबाट एक कैदीबन्दी फरार भएको दुइहप्ता नाघिसकेपनि प्रहरीले फेला पार्न सकेको छैन । कारागारबाट झापा गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी साउन २७ गते आइतबार दिउँसो फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका उनले तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी पश्चात हत्या गरेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए । कारागारमा रहेर बिजुली मर्मतको काम गर्दै आएका माझी भरयाङ्को सहायताले कारागारको पर्खालबाट फरार भएका थिए । कारागारबाट फरार भएका माझी बिर्तामोडतर्फ भागेका थिए । उनलाई घटना भएकै दिन राति करिब ९ बजे गरामनीमा खटिएको प्रहरी टोलीले सडकमा भेट्टाएको प्रहरीले जनाएको थियो । त्यस बेला उनले दुई जना प्रहरीमाथि ढुंगा प्रहार गरी त्यहाँबाट पनि भाग्न सफल भएको प्रहरीको जनाएको थियो । ड्युटीमा खटिएका असइमाथि ढुंगा प्रहार गर्दै गरामनी उत्तर जङ्गलतर्र्फ भागेकाले प्रहरीले रातभर खोजतलास गरे पनि फेला पार्न नसकेको प्रहरीले घटना सुनाएको थियो । केदी फरार भएकै भोलीपल्ट सुरक्षामा रहेका एक सइ सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको थियो । भद्रपुर स्थित कारागारमा सुरक्षार्थ सइ हस्तबहादुर श्रेष्ठ ,असइ गणेश राईसहित ड्युटीमा खटिएका एक प्रहरी हवल्दार र चारजना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको झापा जिल्ला प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका थिए । सइ श्रेष्ठ विदामा बसेको समयमा असइ राइले इन्चार्जको कार्यभार सम्हालेका थिए । उनिहरु हाल निलम्बनमा परेका छन् । घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीकोे नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । फरार कैदी भारत तर्फ भागेकोले भारतीय प्रहरीको सहयोग लिइरहेको झापाका एसपी भिमप्रसाद ढकालले जनाए । कैदीलाइ जसरी पनि फेला पारिने एसपी ढकालले दाबी गरेका छन् ।