भद्रपुर । केही वर्ष यता भद्रपुर क्षेत्रमा आपराधिक कृयाकलाप बढेको व्यापक जनगुनासो आएपछि वडा प्रहरी कार्यालय भद्रपुरले अस्थायी प्रहरी बिट स्थापन गर्ने भएको छ । जिल्ला प्रहरी र वडा प्रहरीको संयोजनमा भद्रपुर ८ सगरमाथा चोकमा प्रहरी बिट स्थापना गर्ने भएको हो । वडा प्रहरी कार्यालय भद्रपुरले सोमबार विहान स्थानीय भेलाबाट छलफल गरेर सगरमाथा चोकमा अस्थायी प्रहरी बिट स्थापना गर्ने निश्कर्ष निकालेको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए । आउदै गरेको चाडपर्व र पछिल्लो समय चोरीका घट्ना बढ्न थालेपछि नगरमा शान्ती सुरक्षा कायम गर्ने उद्देश्य राखेर बिट राख्ने निर्णय भएको जबेगूले जनाए । भेलाले मदन अधिकारीको संयोजकत्वमा सात सदस्य अस्थायी प्रहरी बिट निर्माण समिति चयन गरेको छ । समितिको सचिवमा देव लिम्बू,सदस्यहरुमा राजेन्द्र घिमिरे, स्वर्णीका सि, शेषराज दाहाल,दिपेन्द्र राई,नारायण पराजुली र प्रकाश राई रहेको इन्सपेक्टर जबेगूले जानकारी दिए । समितिले विभिन्न दाताहरुबाट सहयोग लिएर तत्काल काम शुरु गरी दशैअगाडी नै निर्माण सम्पन्न हुनसक्ने उनले बताए ।