[caption id="attachment_92259" align="alignnone" width="740"] धरानकाे अमान बजारमा लागेकाे साेमबारे बजार ।[/caption]

पानवारी । धरानको फुटपाथ ढाकेर गरिदै आएको व्यापार अझै हट्न सकेको छैन । विशेष गरी धरानको मुख्य बजार भानुचोकदेखि छाताचोकसम्मको फुटपाथ अहिले पनि अतिक्रमणको चपेटामा छ । स्थानीय सरकारले चासो नदिँदा घुमुवा व्यापारीले फुटपाथ अतिक्रमण गरिरहेका हुन् । बजार अनुगमनको लागि धरान उपमहानगरपालिकाले ‘बजार अनुगमन तथा व्यवस्थापन निर्देशिका २०७५’ जारी गरिसके पनि जनशक्ति अभाव देखाउँदै अतिक्रमित बजार हटाउन नसकेको हो । धरानका मुख्य सडकका फुटपाथमा पसल थापेर बटुवालाई हिड्नसमेत समस्यामा पार्ने गरेका छन् । धरान बजार सोमबार बन्द हुने गरेकाले फुटपाथमा उनीहरूले अतिक्रमण गरी सामान बेच्दै आइरहेका छन् । धरान उपमहानगरले निर्देशिका बनाउनुपूर्व कानून नबनेको निहँु गर्दै बजार अनुगमनलाई तीव्रता दिएको थिएन भने अहिले नगर प्रहरी नभएको कारण देखाउँदै बजार अनुगमन गरेको छैन ।

‘धरानको मुख्य बजार क्षेत्रको सडक त्यसै पनि साँघुरो त्यसमाथि सडकमा हुने सवारी पार्किङ र सडकपेटीमै व्यापार हुन थालेपछि कहाँबाट हिड्नु पैदल यात्री चाहिँ ?’ –पर्यटन व्यवसायी बासुदेव बराल भन्छन् । मुख्य बजार राम्रो देखिएन, पर्यटक आउँदा धरान नराम्रो देखिन्छ भन्दै धरान उपमहानगरपालिकाले लाखांै रूपैयाँको लागतमा मुख्य सडकको किनारमा स्टेनलेस स्टिलको रेलिङ र गमलामा फूल समेत रोपेको छ । तर फुटपाथमा हुने व्यापार र स्थानीय व्यापारीले टाँगेको त्रिपालले रेलिङ गमला समेत छोपिने गरेको छ । सडकमा अपाङ्गलाई हिड्न असहज भएको भन्दै छाताचोकदेखि भानुचोकसम्म पाँच वर्षअघि उपमहानगरले सडकको दुवैतर्फ अपाङ्गमैत्री फुटपाथ बनाएको थियो । तर बिडम्बना अपाङ्ग मात्र होइन सपाङ्ग समेत हिड्नै नसक्ने गरी व्यापारीले फुटपाथ कब्जा गरेका छन् ।

अहिले फुटपाथको बजारलाई व्यवस्थित गरी स्थानान्तरण गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । त्यसतर्फ धरान उपमहानगरपालिकाले ध्यान दिएको पाइदैन । सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव शिवराज श्रेष्ठ पनि धरानेको सोमबारे फुटपाथ व्यापारलाई उपर्युक्त स्थानमा सारेर व्यवस्थित बनाउनु पर्ने बताउँछन् । नेपाली काङ्ग्रेस धरान नगर सभापति तिलक राईले सोमबारे धरानमा देखिएको बजारलाई भानुचोक नजिकै उपयुक्त स्थान खोजेर सार्नुपर्ने बताउँछन् । त्यस्तै फेन्सी व्यापार सङ्घ धरानका अध्यक्ष मेहरलाल श्रेष्ठले पनि धरानमा अहिले देखिएको सोमबारे फुटपाथको व्यापार असोभनीय भएको भन्दै उपयुक्त स्थानमा सारेर व्यवस्थित गर्नुपर्ने बताउँछन् । धरान उपमहानगरपालिकाले सडकपेटीमा व्यापार गर्न नदिने हल्ला सुनेपछि भने केही व्यापारी अहिले अमान बजारमा साेमबारे बजार थाप्न पुगेका छन् ।

धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत दिवस अधिकारी भन्छन्, ‘भर्खरै मात्र बजार अनुगमनका लागि निर्देशिका बनेको छ, अहिले केही प्राविधिक कठिनाइ भएकाले बजार अनुगमनमा निस्कन सकिएको छैन तर दशै अगाडि बजारका धेरै बेथिति अन्त्य गर्ने योजना बनाएका छौ ।’