रंगेली । प्रदेश १ को नाम कोशी वा सगरमाथा नाम राखेर देखाउन सङ्घीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश सरकारलाई चुनौती दिएका छन् । प्रदेश १ को संसद् भवनमा सोमबार धर्ना दिँदै अध्यक्ष लिङ्देनले लिम्बुवानलाई बाइपास गरेर प्रदेशको नाम राखे आन्दोलनको सामना गर्न तयार रहन सरकारलाई चेतावनी दिएको हुन् । उनले भने, ‘प्रदेश १ को नाम कोशी वा सगरमाथा राखे हजारौ लिम्बुवानी युवायुवती आएर प्रहरीको तारबार तोडेर सभामुखको कुर्सीमा आफै बसेर प्रदेशको नाम राख्ने छौ ।’ उनले अहिलेको ओली सरकार आदिवासी जनजातिको पहिचान मेट्ने दाउमा लागेको आरोप समेत लगाए । सङ्घीयताका लागि सबैभन्दा बढी रगत बगाउने दुई नम्बर प्रदेशको नाम राख्नु पर्ने बताए । प्रदेश २ को नामाङ्कन नगरी प्रदेश १ को नाम राख्ने प्रयास नगर्न उनले सङ्घीय सरकारलाई चेतावनी दिए । लिङदेनले सम्बोधनको क्रममा पटक–पटक प्रदेश २ को नाम पहिला राख्नुपर्ने कुरा दोहो¥याए । उनले गण्डक प्रदेश नाम राखेर त्यहाँका गुरुङ र मगरलाई ओली सरकारले धोका दिएको आरोप लगाए । मुख्यमन्त्रीको राजीनामा माग त्यसक्रममा धर्ना दिँदै लिम्बुवानका कार्यकर्ताहरूले मुख्यमन्त्री शेरधन राईको राजिनामा माग गरेका छन् । ‘सिडीओले नटेर्ने मुख्यमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गरे । अरुणपूर्वका ९ जिल्लाबाट १० वटा गाडीमा विराटनगर आएका उनीहरू बस पार्कबाटै नारा लगाउदै संसद् भवन अगाडि पुगेका थिए । ठूलो संख्यामा उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीले लिम्बुवानका कार्यकर्तालाई संसद् भवन भन्दा ५० मिटर पर अस्पताल चोकमै रोकेका थिए । प्रहरीले रोकेकै स्थानमा उनीहरुले करी ३ घण्टा सम्म नाराजुलुस र कोण सभा गरेका थिए ।