भद्रपुर । झुटो विवरण पेश गरेर नागरिकता लिई फरार दोषीलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । झापाको बाह्रदशी गाउँपालिका–४ का ७३ वर्षीय पङ्खु मियाँलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । अदालतले २०७१ असार ११ गते मियाँलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको असुल तहसिल सम्बन्धी विशेष अभियान अन्तर्गत गठित समितिले मियाँलाई भद्रपुर–१० चन्द्रगढी बजारबाट सोमबार दिउँसो पक्राउ गरिएको जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए । अदालतले उनलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका मियाँलाई कैद भुक्तानका लागि झापा कारागार चलान गरेको उनले बताए ।