मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले आफुले सूसासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकाको वडा नं. ७ को वडा स्तरीय सार्वजनीक सुनवाई कार्यक्रममा आचार्यले सो कुरा बताएका हुन् । मिक्लाजुङ गाउँपालिकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । आज (मंगलबार) आर्थिक पारदर्शीता र सुशासन र नागरीकहरुलाई सुचनाको हक सुसुचित गराउने साथै नागरिक सचेतनामा बृद्धि गराउने उद्धेश्यले सार्वजनीक सुनुवाई कार्यक्रमको आयोजना गरिएको वडा नं. ७ का वडाध्यक्ष शुशील राज र्चौहानले बताए । मिक्लाजुङ गाउँपालिका वडा नं. ७, मा यस आर्थिक वर्ष २०७४/०७५ मा भएका योजनाहरु र त्यसको लागत र आर्थिक पारदर्शीतामा केन्द्रित सार्वजनिक सुनुवाईमा स्थानिय नागरिकहरुले राखेको प्रश्नहरुको जवाफ वडाध्यक्ष शुशील राज चौहानले दिएका थिए । मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा यस वर्ष भएका योजनाहरु र तिनमा भएको खर्च बिवरण उपभोक्ताका लागि मान्य भएको देखिन्थ्यो । प्राय गरेर सार्वजनिक सुनुवाई कार्यक्रममा निक्कै रस्सा कस्सी र घम्सा घम्सी देखिने कार्यक्रमा मिक्लाजुङ गा.पा. वडा नं. ७ मा भने त्यस्तो देखिएन । वडामा गएको रकम पुर्ण रुपमा खर्च भएको र खर्च गर्ने तरिकामा पारदर्शिता रहेकै कारण हुनु पर्छ खास आर्थिक अनियमितताको कुनै प्रश्न उठेनन् । सहभागीले राखेका प्रश्नहरुको जवाफ वडा अध्यक्ष चौहान र गाउँपपालिका अध्यक्ष देवी प्रसाद आचार्यले दिनु भएको थियो । कार्यक्रममा सहभागीहरुले स्थानीय वडा स्तरमा भएका योजनाहरुको सञ्चालनमा भएका कमी–कमजोरी र राम्रा पक्षहरुको बारेमा प्रश्न राखेका थिए । वडा स्तरीय योजनाहरुमा वडा नं. ७ ले ४८ वटा योजनाहरु संञ्चालन गरेको थियो । प्रत्येक योजनाहरुमा आर्थिक पारदर्र्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राखी योजानाहरु सञ्ंचालन गरिएको वडाध्यक्ष चौहानले बताए । कार्यक्रम विद्यालयहरुको तर्फ बाट कमल प्रसाद ढकाल, राजनैतिक दलका प्रतिनिधीहरु राप्रपाका प्रतिनिधी नारायण प्रसाद भण्डारी, नेका प्रतिनिधी बबिकुमार राई, नकपा प्रतिनिधी नरेन्द्र प्रसाद ढुङ्गेलले कार्यक्रमको बारेमा र अब गर्न बाँकी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष शुशील राज चौहान को सभापतित्वमा सम्पन्न भएको थियो ।