पानवारी/ धरानको मुख्य सडकको फुटपाथमा लाग्दै गरेको व्यापार हट्दै गएको छ । फुटपाथलाई व्यापारीले व्यापारिक प्रयोजनमा प्रयोग गर्दा पैदलयात्रीलाई हिँड्न अफठ्यारो परेको विषयमा ब्लाष्ट टाइम्स दैनिकले निरन्तर उठान गरेपछि धरान उपमहानगरपालिकाले फुटपाथको व्यापार हटाएको हो । फुटपाथमा हुने व्यापार तथा फुटपाथमा व्यापारीले राखेका सामानलाई हटाइएको छ भने रेलिङसम्म टाँगिएको त्रिपाल समेत हटाइएको छ । उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत दिवस अधिकारीका अनुसार धरानको मुख्य बजार क्षेत्रमा रहेको फुटपाथ अतिक्रमणलाई पहिलो चरणमा हटाउने अभियान अनुसार हटाइएको हो । उनले भने, ‘धरानको मुख्य बजार छाताचोकदेखि भानुचोकसम्मका दुवैतर्फ भएको फुटपाथ अतिक्रमण तथा फुटपाथमा हुने व्यापारलाई हटाइएको हो ।’ उनका अनुसार लाखौ रूपैयाँ खर्च गरेर उपमहानगरपालिकाले बनाएको अपाङ्गमैत्री फुटपाथ र धरानको शोभाको लागि भनेर निर्माण गरिएको रेलिङ र गमला ढाक्ने गरी हुने व्यापार अब कहिल्यै हुदैन ।
फुटपाथको व्यापार हटेपछि सोमबारे बजार अहिले धरान–१२ स्थित अमान बजारमा लाग्न थालेको छ । अमान बजारमा अहिले दैनिक रूपमा पनि फुटपाथका व्यापारीहरूले आफ्नो पसल थाप्दै आएका छन् । फुटपाथमा व्यापार गरिरहेका एक व्यापारी भन्छन्, ‘नगरपालिकाले अहिले बाटोमा पसल राख्न नदिने रे, त्यसैले सबैले यता (अमान बजार) लैजाउ भने त्यही भएर ल्याएको हो ।’ उनका अनुसार फुटपाथमा जति व्यापार नभए पनि अमान बजारमा विस्तारै बजार विस्तार हुन्छ र व्यापार पनि हुन्छ । फुटपाथमा हुने कपडा, जुत्ता तथा मोबाइलका कभर लगायतका सामानको व्यापार हुने गरेको थियो ।