भद्रपुर/ पत्रकारिताको क्षेत्रमा उल्लेखीय गोगदान पुर्याएको भन्दै एक पत्रकार र अन्य दुईजना राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत गरिएको छ । स्वर्गीय प्रमोद तामाङको आठौं स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन एवम् राष्ट्रसेवक सहकारी संस्था लिमिटेड झापाले शुक्रबार अपराह्न भद्रपुरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा पुरस्कार प्रदान गरेको हो । स्वर्गीय प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिताबाट साझा मञ्च अनलाइन बिर्तामोडका सम्पादक गोपाल काफ्ले पुरस्कृत भएका हुन् । काफ्लेलाई सम्मान पत्रसहित ५ हजार एक सय ५१ रुपैयाँ नगद प्रदान गरिएको थियो । त्यसैगरी स्वर्गीय तामाङ स्मृति उत्कृष्ट राष्ट्र सेवकमा डाक्टर गोविन्द कँडेल र अर्जुन पोखरेललाई क्रमशः नगद १० हजार एक सय ५१ सहित सम्मान– पत्र प्रदान गरिएको थियो ।
सङ्गठनका अध्यक्ष केदार पोखरेलको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत पत्रकार काफ्ले, डाक्टर कँडेल, पेशागत महासङ्घ प्रदेश १ का संयोजक देवराज कार्की, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, कर्मचारी सङ्गठनकी केन्द्रीय सदस्य देवी पराजुलीले बोलेका थिए । कार्यक्रमको औचित्यमाथि राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले प्रष्ट पारेका थिए भने सञ्चालन सचिव तेजप्रसाद रेग्मीले गरेका थिए ।