उदयपुर /उदयपुरमा वडाले सिफारीस नदिएको भन्दै गाईघाटमा मोहीहरूले बृहत सभा गरेको छ ।

राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरबाट निस्किएको लगभग तीनसय सहभागीको र्यालीले नारा लगाउँदै बजार परिक्रमा गरेको हो ।मञ्चको आयोजनामा भएको मोही तथा किसान सभाको र्यालीमा ‘रगत पसिना बगायौँ, बदलामा के दियौ, हाम्रो नारा हाम्रै भोक, बिस्र्यौ वाचा दियौ चोट’ लगायत नारा लगाउँदै निस्किएको र्यालीले बजार परिक्रमा गरी पीपल चोकमा कोणसभा गरेको हो । दर्ता भएको निवेदन कारबाहीको लागि वडा न. ८, १०, १३ लगायत वडाले सिफारिस दिनमा आलटाल गरी म्याद सकाउने प्रयास गरेकाले मोही अधिकारबाट बञ्चित नहुन सभा गरेको राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राईले बताए ।

भदौ २० सम्म स्थानीय तहको वडाले मोही प्रयोजनका लागि नामसारी, नाम सुधार, नाता कायमलगायतको सिफारिस नदिए २१ गते बाट नै कडा आन्दोल गर्ने राष्ट्रियभूमि अधिकार मञ्च उदयपुरका संयोजक राईले बताए । स्थानीय सरकारले मोहीको अधिकार हस्तक्षेप गर्न खोजेकाले मोही प्रमाण –पत्रको माला लगाएको मोही हकवाला सन्तोष दनुवारले बताए ।  वडा अध्यक्षले नपाबाट केही जानकारी नआएकाले सिफारिस दिन नमिल्ने भनेपछि मोहीहरू नपा आउँदा ‘सिफारिस दिन्छु आऊ’ भनी वडामा डाक्ने अनि विभिन्न बहाना गरी सिफारिस नदिने गरेको आरोप मोही हकवाला दनुवारले बताए ।