पानवारी । धरान उपमहानगरपालिकाले बढाएको करको न्यायोचित सम्बोधन नगरे नेपाली कांग्रेसले आन्दोलनको स्वरुप परिवर्तन गरी आँधीवेहरी सृजना गर्ने जनाएको छ । उपमहानगरपालिकाको नेतृत्व जनतालाई झुक्याएर भएपनि कर असुलेर छाड्ने मनस्थितिमा रहेको देखिएकोले त्यसलार्य कुनैपनि हालतमा नमान्ने नेपाली कांग्रेसले जनाएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस धरान उपमहानगर सभापति तिलक राईले उपमहानगरपालिकाका सल्लाहकार र विज्ञहरुसँग समेत छलफल नगरेको र नगरसभामा समेत छलफल नै नगरी तालि पिटेको भरमा आर्थिक ऐन ल्याएको बताए । राईका अनुसार उपमहानगरपालिकाको करको दायरा बढेको छ, अहिले मातपोल, यातायात, ढुंगागिट्टी, बहाल कर लगायतका दायरा बढेकोले करको दर वृद्धि गरिरहनुपर्ने आवश्यकता नरहेको बताएका थिए । उनले जल्लाको मूल्याङ्कन समेत १५० प्रतिशतसम्म बढाएको र त्यसको आधारमा सिफारीस तथा राजश्व बढाएकोले जनता अत्याधिक मारमा परेको बताए । नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै धरानका पूर्व नगरप्रमुख कुमारबहादुर कार्कीले धरानमा उत्पादन नहुने भन्दै अन्यत्रबाट उत्पादन भएका वस्तुहरु उपभोग गर्ने शहर भएकोले धरानमा कर बढाउनु न्यायसंगत नभएको बताए । पहिलेको शासन व्यवस्थामा माथिल्लो निकायले तल्लो निकायलाई नियन्त्रण गर्ने हुँदा बेथिति कम हुने गरेको स्मरण गर्दै अहिलेको शासन व्यवस्थामा स्थानीय सरकारलाई छाडा छोडेकोले यी समस्या आएको उनले बताए । जनताबाट उठाएको कर जनताकै निम्ति खर्च गर्नुपर्नेमा अहिलेका जनप्रतिनिधिले आफ्नै सुविधा तथा तलब भत्तामा मात्रै खर्च गर्ने परिपाटी देखिन थालेको कार्कीले बताए । उनले करवृद्धि विरुद्धमा नेकपामाथी आस्था राख्ने जनताले आवाज उठाउन नसकेपनि करवृद्धि गलत हो भन्ने राम्ररी बुझेको समेत बताए । कांग्रेस सुनसरी सचिव सुजेन्द्र तामाङले जनतालाई परिवर्तनको अनुभूति हुने गरी स्थानीय सरकारले काम गर्न नसकेको बताए । उनले नगरपालिकामा अनुभवी कर्मचारी, विषय विज्ञ तथा सल्लाहकार हुँदा समेत स्थानीय सरकार चुकेको भन्दै स्थानीय सरकारको आलोचना गरेका थिए । धरान उपमहानगरपालिकाले जग्गाको मुल्याङ्कनमा १५० प्रतिशत, सम्पत्ति करमा ३०० प्रतिशत, सवारी दर्ता तथा वार्षिक करमा २०० प्रतिशत, व्यवसायीक विज्ञापन करमा ४०० प्रतिशत लगायत व्यवसाय करमा २०० प्रतिशतसम्म वृद्धि गरेको छ ।