बिर्तामोड । नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलन २०१८ झापाको सुरुङ्गामा हुने भएको छ । सुरुङ्गा जेसिजको आतिथ्यतामा भदौ २२ र २३ गते सम्मेलन आयोजना हुने भएको छ ।

सम्मेलनको पूर्व प्रधानन्याधीश सुशीला कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले शुक्रबार सुरुङ्गामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । सम्मेलनअघि सुरुङ्गा बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जेसीजले जनाएको छ ।

सम्मेलनका लागि २७ लाख अनुमानित खर्च हुने सम्मेलनका निर्देशक कुमारमणि पोखरेलले जानकारी दिए । सम्मेलनमा सहभागी हुन आएका अतिथिलार्ई कनकाई नगरपालिका वडा नम्बर २, ३ र ४ मा पर्ने पर्यटकीय स्थल सिमसार, हेप्पी ल्याण्ड, कोटीहोम तथा धनुषकोटी धामको भ्रमण गराइने सुरुङ्गा जेसिज अध्यक्ष भीम भट्टराईले जानकारी दिए ।

कार्यक्रममा राजनीतिक बिशेषज्ञ प्रा.डा. सुरेन्द्र केसी, पुरञ्जन आचार्य, उज्ज्वल प्रसाईं लगायतले नेतृत्व विकास, समसामयिक राजनीतिलगायतको विषयमा प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । दानवीर एवम् सकारात्मक, चिन्तनका अभियन्ता आनी छोइङ डोल्माको उत्प्रेरणात्मक मन्तव्यसमेत राखिएको अध्यक्ष भट्टराईले जानकारी दिए । कार्यक्रममा ५ सय जना सहभागी हुने जनाइएको छ ।