ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङका लागि रातो किताब आफै भएको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल ताप्लेजुङद्वारा शनिबार ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ताप्लेजुङका जनताको प्राथमिकतामा रहेका विकासका आयोजनाहरू रातो किताबमा नपरे पनि ती योजनाहरू निरन्तर रूपमा सञ्चालन हुने भएकाले रातो किताबमा परेन भनेर चिन्ता लिनु नपर्ने बताए । ‘कतिपय रातो किताबमा परेका आयोजना पनि सञ्चालनमा आएका छैनन् । कतिपय नपरेको पनि सञ्चालनमा छन्’ उनले भने, ‘रातो किताबमा नपरे पनि हाम्रो जिल्लाका आयोजनाहरू सञ्चालन हुन्छन् ।
तपाईहरू ढुक्क हुनुहोस्, रातो किताब मै हुँ ।’ यसपटक तमोर करिडोर, उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजना र मदन भण्डारी राजमार्गको बजेट रातो किताबमा परेको छैन । यता उनले आउँदो दशैँछेक पारेर मन्त्रिपरिषद् बैठकले वृद्धभत्ता वृद्धिको निर्णय लिन सक्ने सङ्केत गरेका छन् । ‘आगामी पाँच वर्षभित्र वृद्धभत्ता ५ हजार नै पुर्याउने हो’ –वृद्धभत्ता वृद्धिको पूर्वघोषित अवस्थाबाट वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी विचलित नभएको दाबी गर्दै नेता भट्टराईले भने । उनले बिचौलियाका कारण हरेक क्षेत्र प्रभावित बनेको भन्दै यसका विरुद्ध सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
उत्पादकबाट सस्तोमा सुविधा लिँदै अनियन्त्रित रूपमा नाफा कमाउने बिचौलियाको प्रवृत्तिले उत्पादक र उपभोक्ता दुवै मारमा परिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले नियन्त्रणको प्रयास थालेको उनको भनाइ छ । एक फरक प्रसङ्गमा उनले पछिल्लो समयमा स्थानीय तहले लिइरहेको करबाट मारमा परेको भन्ने जनगुनासोप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताए । कर उठाउने विषयमा स्थानीय सरकार स्वतन्त्र भए पनि जनतालाई असुविधा हुनेखालको र अस्वभाविक भए त्यसमा विचार पु¥याउन पार्टीले समन्वय गर्ने बताए । अबको २ वर्षभित्र बहान्देबाट दोभानसम्मको बाटो कालोपत्रे हुनेमा शङ्का नगर्न आग्रह गर्दै नेता भट्टराईले पाथीभरा जाने सडकका लागि सरकारी योजना भन्दा बेग्लै अरु योजनाको दृष्टिकोण पनि आफूले अघि सारेको बताए । भारतको एक्जिभ बैङ्कसँग २५ करोडभन्दा माथिको रकम रहने गरी सडक निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । यसो हुँदा पनि सरकारी तहको योजना कायमै रहने उनको भनाइ थियो । यसै वर्षबाट पाथीभरा क्षेत्रका जनताका लागि ८० देखि १०० वर्षसम्मलाई पर्याप्त मात्रामा पानी पुग्ने गरी ३० करोडसम्मको योजना अघि बढ्ने तयारीमा रहेको उनको भनाइ थियो । उनले सुकेटार विमानस्थलकोे स्तरवृद्धि र स्तरोन्नतिका दुवै कार्य यही वर्षबाट शुरु गर्ने योजना पनि सुनाए । दोभान पारि चाँगे र ढुङ्गेसाँघुकोबीच भागमा अर्को विमानस्थल बनाउने सोच तत्काल कार्यान्वयन नहुने र त्यो प्राविधिक दृष्टिकोणले पनि अनुपयुक्त रहेको प्रतिवेदन आएकोले सुकेटारलाई बाह्रैकाल चल्न सक्नेगरीको बनाउन दुवैतर्फबाट जहाज बस्ने गरी स्तरोन्नति हुने जानकारी दिए । नेकपाका केन्द्रीय नेतासमेत रहेका भट्टराईले सरकार सञ्चालनको ६ महिनाको अवधि जारी रहँदा धेरै सार्वजनिक प्रश्न उठेको भए पनि यस्ता प्रश्नले आफूहरूलाई सचेत र सन्तुलित बनाउन प्रयास गरेको बताए । यो सरकार कुनै दिनगन्ती नजिक नरहेकोले अबको ५ वर्षभित्र मुलुकलाई समृद्ध बनाउने योजना बनाइरहेको उनको भनाइ थियो ।