भद्रपुर/ झापाको एक क्यासिनोबाट चोरी भएको रकम नौ दिनपछि क्यासिनो कै कर्मचारीबाट प्रहरीले फेला पारेको छ । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बजारमा रहेको एसेस लाउण्डा मिनी क्यासिनोमा चोरी भएको रकम सोही क्यासिनोमा इलेक्ट्रिसियनमा कार्यरत मिलन श्रेष्ठबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्यासिनोबाट भदौ ९ गते ११ लाख ९३ हजार नगद चोरी भएको घटनामा श्रेष्ठ पक्राउ परेको डिएसपी तथा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जनाए । क्यासिनोमा रहेको गेम एरियामा भएको कर्मचारीहरूको टिप्स रकम राख्ने दराज फुटाई ११ लाख ९३ हजार चोरी भएको थियो । सोही क्यासिनोको उत्तर तर्फको ढोकाबाट माथि चढ्ने सिँढीको फेदको देब्रेपट्टि साईडमा रहेको कम्यूटरको इपिएस भित्र कालो प्लाष्टिकमा पोकोपारी लुकाएको अवस्थामा आइतबार साँझ फेला पारिएको डिएसपी बस्नेतले जनाए । बरामद गरिएको सामान सहित श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।