राजविराज/अर्थमन्त्री डा. युवराज खतिवडाले करका सम्बन्धमा चलेको विभिन्नखाले भ्रामक हल्लालाई फेसबुके हल्लाको संज्ञा दिँदै यथार्थ त्यस्तो नभएको बताएका छन् । सोमबार सदरमुकाम राजविराजमा आन्तरिक राजश्व कार्यालयद्वारा स्थापना गरिएको करदाता सेवा कार्यालयको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘करका सम्बन्धमा अहिले विभिन्न खाले भ्रामक हल्ला फैलाइएको छ, यो यथार्थ नभई फेसबुके हल्ला मात्र हो’ उनले भने, ‘कारोबारको क्षमताअनुसार मात्र कर निर्धारण गरिएको हो, बेकारको हल्लामा कुनै सत्यता छैन ।’ सरकारले पर्याप्त अध्ययनपछि कर नीति ल्याएको जिकिर गर्दै उनले यस विषयलाई केही व्यक्तिले अनावश्यक हिसाबले उछाल्ने काम गरिरहेको बताए ।