विराटनगर/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार विराटनगरहुँदै भोजपुर ल्याइएको छ ।
विश्वकर्मालाई विराटनगर विमानस्थलबाट प्रहरीको गाडीमा राखेर भोजपुरतर्फ लगिएको हो । प्रहरीले श्री एअरलाइन्सको जहाजमार्फत् बिहान ११ः५० बजे उनलाई विराटनगर विमानस्थल ल्याएको थियो । मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाको नेतृत्वमा गएको प्रहरी टोलीले एयरपोर्टको रन–वेबाटै प्रहरी भेनमा हालेर लगेको हो । एयरपोर्टको यात्रु कक्षबाट नभई नेता प्रकाण्डलाई एयरपोर्टको पूर्वतर्फको सैनिक इलाकाको गेटबाट लगिएको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भोजपुरतर्फ लगिएका विश्वकर्मालाई मोरङ प्रहरीको टोलीले दुहबीसम्म पु¥याएर सुनसरी प्रहरीको जिम्मा लगाएको जानकारी दिए ।
चन्दाबापत सात करोड रुपैयाँभन्दा बढी जबरजस्ती असुलेको अभियोगमा काठमाडौंको दक्षिणकालीबाट गत साउन २३ गते दुई कार्यकर्तासहित पक्राउ परेका ‘प्रकाण्ड’ लाई सर्वोच्चले पटक–पटक रिहा गर्न आदेश दिइसके पनि प्रहरीले पुराना मुद्दामा अदालत उपस्थित गराउनु पर्ने भन्दै विभिन्न ठाउँमा पु¥याउने गरेको छ । यसअघि उनविरुद्ध काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो । उनीसहित ‘विप्लव’ का उच्च तहका नेताहरू पदमबहादुर राई ‘विकास’, देवान राई ‘दीपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।