पानवारी/ धरान उपमहानगरले वृद्धि गरेको कर विरुद्ध आन्दोलित संयुक्त सङ्घर्ष समिति र धरान उपमहानगरबीच राजश्व सुझाव कार्यदल गठन गर्ने सहमति बनेको छ ।  मङ्गलबार अबेर सम्पन्न वार्ताले कार्यदल गठन गरेको हो । कार्यदलले करका सम्बन्धमा विस्तृत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन बुझाउने सहमति बनेको छ । कार्यदलमा संयुक्त सङ्घर्ष समितिबाट ३ जना, धरान उपमहानगरबाट ३ जना र एक÷एकजना विज्ञ सम्मिलित सदस्य रहने नेपाली काङ्ग्रेस धरान नगर सभापति तिलक राईले बताए । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले सुझाव कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमा थप छलफल गर्दै कर समायोजन गर्ने/नगर्ने विषयमा निर्णयमा पुग्ने बताए ।

कार्यदलमा संयुक्त सङ्घर्ष समितिको तर्फबाट करविज्ञको रूपमा प्रा.डा. अशोककुमार झा, नेपाली काङ्ग्रेसका नगर सचिव श्याम पोखरेल, अनिल श्रेष्ठ र सञ्जुहाङ सावाँ रहेका छन् भने नगरबाट प्रवक्ता एवम् २० नं. वडाध्यक्ष मणिराम राई, १५ नं. वडाध्यक्ष नरेश इवारम, १७ नं. वडाध्यक्ष मनोज भट्टराई र आवश्यकता अनुसार विज्ञको रूपमा एकजना सदस्य रहने गरी ८ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको पहिलो बैठक भने भाद्र २१ गते दिउँसो २ बजे धरान उपमहानगरपालिकामा बस्ने निर्णय भएको छ । कार्यदलको प्रतिवेदन नआउञ्जेलसम्म नेपाली काङ्ग्रेसले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको नगरसभापति तिलक राईले बताए ।

करवृद्धि फिर्ताको माग राख्दै भाद्र २ गतेदेखि आन्दोलनरत नेपाली काङ्ग्रेसले १० दिने अल्टिमेटम दिएको थियो । धरान उपमहानगरपालिकाले वार्ताका लागि आह्वान गरेपछि काङ्ग्रेसले मङ्गलबार धरान उपमहानगरपालिकाको मूलगेटमा तालाबन्दी गर्ने कार्यक्रमसमेत स्थगित गरेको छ ।