रङ्गेली/ जितिया थारु जातिको मुख्य पर्व भएको भन्दै मङ्गलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश १ की सांसद् सुनिताकुमारी चौधरीले बिदा दिन सरकारसँग माग गरेकी छन् ।

उनले सङ्घीयता आएसँगै सबै जातजातिले आफ्नो पर्व मनाउन पाउनुपर्ने भन्दै प्रदेशसभा बैठकको शून्य समयमा असोज १७ गते पर्ने जितिया पर्वको लागि बिदाको माग गरेकी थिइन् । अर्की सांसद् सावित्राकुमारी रेग्मीले पुरानै संरचनामा सञ्चालन भइरहेको कोशी अञ्चल अस्पतालले अहिलेको मागअनुसारको सेवा दिन नसक्ने भन्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न माग गरिन् । छिमेकी देश भारतबाट समेत सेवा लिन आउने अस्पतालले दैनिक १२ सयभन्दा बढीलाई ओपिडी सेवा दिएको उनले बताइन् । अहिले अस्पतालमा दरबन्दीअनुसार डाक्टर नभएको र अस्पतालमा भएका उपकरणको पनि प्रयोगमा आउन नसकेको उनले बताइन् ।