यासोक/पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुम जिल्ला जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुलका श्रमिकले ज्याला पाएका छन् । लामो समयदेखि काम गरे पनि ज्याला नपाएको श्रमिकले गुनासो गर्दै आएका थिए । उनीहरूको गुनासो सञ्चार माध्यममा प्रसारण र प्रकाशन भएपछि निर्माण कम्पनीले श्रमिक र स्थानीय होटल व्यवसायीलाई बुझाउन बाँकी रहेको कुल १५ लाख रुपैयाँ बुझाएको हो । निर्माण कम्पनीले स्थानीय वीरेन्द्र निरौलाको पाँच लाख ५० हजार, स्थानीय ट्याक्टर चालक लोकबहादुर माझीको एक लाख ५० हजार, होटल व्यवसायी यामबहादुर बुढाथोकीको चार लाख ८९ हजार र अन्य स्थानीय श्रमिकहरूको रकम गरी १५ लाख रुपैयाँ बुझाएको छ । २०७० सालमा स्वच्छन्द निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो । सुस्त गतिमा काम गरेको निर्माण कम्पनीले आयोजनामा काम गर्ने कामदारलाई पैसा नदिएको गुनासो बढ्न थालेपछि दबावमा परेको निर्माण व्यवसायीले श्रमिकलाई पैसा दिएको छ । आफूहरू अन्यायमा परेको बेला सञ्चारमाध्यमले ठूलो भूमिका खेलेका कारण आफूहरूले न्याय पाएको स्थानीय होटल व्यवसायी यामबहादुर बुढाथोकीले बताए । उनी भन्छन्, ‘लामो समय हुँदा पनि आफ्नो होटलमा बाँकी पैसा नपाएपछि ठेकेदार खोज्न गएको थिएँ तर रित्तो हात फर्कनु प¥यो । तर अहिले निर्माण व्यवसायीहरू निर्माणस्थलमै आएर सबैको रकम बुझाउँदा भने खुसी लागेको छ ।’ पुल निर्माणको काम डिभिजन कार्यालय धनकुटाले २०७० सालमा स्वच्छन्द निर्माण सेवालाई दिएको थियो । दुई लेनको पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवाले २०७० सालमा १५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको थियो । ३ वर्षमा पूरा गर्नुपर्ने योजनाको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ५ पुग्दा ४० प्रतिशत मात्र काम पूरा भएको छ । १ सय ६० मिटर लामो पुलमा ९२ मिटर ढलान र बाँकी ५७ मिटर स्टिलको ट्रष्ट राखिनेछ । पुलमा २ वटा पिलर, ४ वटा स्लाप र ६० मिटर लम्बाइको ट्रष्ट निर्माण गर्न बाँकी रहेको छ ।