बिर्तामोड/ झापाको बिर्तामोडस्थित हाम्रो सहकारी संस्थाले ‘सुरक्षित जीवनका लागि वचत’ अभियान शुरु गरेको छ ।
अभियानअन्तर्गत सहकारीले सदस्यका सन्तान जन्मँदा भोटो–टोपी उपहार, मासिक १ हजारको बाल वचतको शुरुआत र सुत्केरीलाई पौष्टिक आहार वितरण गर्ने योजना ल्याएको छ । सदस्यका बालबालिकाको अन्तरनिहित क्षमता अभिवृद्धि गर्न हाम्रो नेपाल साकोस कार्यक्रम सञ्चालन गरिने बताएको छ । युवा लक्षित कार्यक्रममा स्वरोजगार सिर्जना, खेलकुद कार्यक्रम र प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने योजना सहकारीको योजना छ । सहकारीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै वृद्धभत्ता कार्यक्रम र पेन्सन वचत योजना अघि सारेको छ । मृत्युपश्चात् पनि आफ्ना सदस्यको परिवारलाई राहत, किरिया खर्च उपलब्ध गराउने र श्रद्धाञ्जली र समवेदना कार्यक्रम गर्न बजेट विनियोजन गरेको जनाएको छ । ६ वर्ष अघि ३५ जना सदस्यबाट शुरु भएको सहकारीमा हाल ४ हजार ५ सय १० सदस्य छन् । झापा जिल्लाभर कार्यक्षेत्र बनाएको सहकारीले हाल ५ वटा केन्द्रमार्फत कारोबार गरिरहेको छ भने आगामी वर्ष १५ वटा केन्द्र पुर्याउने लक्ष्य लिएको अध्यक्ष भवानी दङ्गालले जानकारी दिए ।
शेयर पुँजी चार करोड बढी हालसम्ममा संस्थाको शेयर पुँजी ४ करोड १७ लाख पुगेको अध्यक्ष दङ्गालले बताए । संस्थाले १ हजार ५ सय ४० सदस्यलाई ऋण लगानी गरेको छ । कर्जातर्फ २२ करोड ८३ लाख बढी लगानी छ । संस्थाको वचततर्फ भने १७ करोड ९२ लाख बढी सङ्कलन छ । संस्थाले भदौ २२ गते साधारणसभा गर्ने तयारी गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा संस्थाले ४ करोड ४७ लाख बढी आम्दानी गर्न सफल भएको जनाएको छ । ‘अझै पनि युवा स्वरोजगारमुखी कार्यक्रम भने प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छैनौँ ।’ अध्यक्ष दङ्गालले भने ।
एक्काइस प्रतिशत साझेदारी संस्थाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले सरकारले लिएको ३३ प्रतिशत आर्थिक साझेदारीमा झापाले २१ प्रतिशत सफलता प्राप्त गरेको बताए । सरकारको प्रष्ट नीति नबन्दा र झापाका १७ वटा सरकारका बेग्ला बेग्लै निर्देशनमा चल्नु पर्ने अवस्थाले संस्थाहरू अलमलमा परेको ढकालले बताए ।