भद्रपुर । झापामा रहेका पन्ध्र स्थानीय तहमध्ये हल्दीबारी गाउँपालिकामा महिलाको नेतृत्वमा देशकै उत्कृष्ट गाउँपालिका बनाउन अभियान शुरु गरिएको छ ।

दोस्रो गाउँसभाबाट पारित ‘हल्दीबारीका महिला विकासमा पहिला’ भन्ने नीति तथा कार्यक्रमअनुसार महिलाको नेतृत्वमा गठित २७ ओटा टोल विकास संस्था मार्फत समृद्धि हासिल गर्न अभियान शुरु गरिएको हो ।

गाउँपालिकाले बुधबार टोल विकास संस्थालाई दर्ता प्रमाण–पत्र हस्तान्तरण गरी आधिकारिक्ता प्रदान गरेको छ । तीन गाविस मिलेर पाँचवटा वडा रहेको गाउँपालिकामा एक अध्यक्षसहित पन्ध्रजनाको टोल विकास संस्थाको कार्यकारी समिति गठन गरिएको छ । समितिका अध्यक्षलाइ प्रदेश सांसद पूर्णप्रसाद राजवंशी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षले संस्था दर्ताको प्रमाण– पत्र दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले दोस्रो गाउँसभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि गठित टोल विकास संस्थाको परिचय,काम कर्तव्य,अधिकार लगायतका विषयको प्रस्तुती गरेका थिए । गठित समितिले बढीमा तीन जना पुरुष रहने गरी पाँच सदस्यीय सल्लहाकार समिति समेत गठन गर्ने नियम रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जनाए । संस्थाले राम्रो काम गरेमा प्रथमलाइ एक लाख नगद पुरस्कार सहित पाँचलाखको आयोजना,दोस्रो हुनेलाइ ७५ हजार नगदसहित चार लाखको आयोजना र तेस्रो संस्थालाइ ५० हजार नगद सहित तीनलाखको आयोजना गाउँपालिकाले प्रदान गरिने उनिहरूलाई जानकारी गराएका थिए । ६ हजार ४ सय १५ घरधुरी रहेको गाउँपालिकामा ३१ हजारभन्दा बढी जनसङ्ख्या रहेको उनले जनाए ।

प्रायःजसो विकास निर्माणका काममा पुरुषले मात्र चासो लिएर आउने भएकोले विकासमा महिला पनि अग्रसर हुनु पर्ने अधिकारलाइ आत्मसाथ गरेर यस्तो अभियान अघि सारेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए । त्यसैगरी उपाध्यक्ष डम्बर बहादुर गिरीले महिलालाइ अघि सारेर देशकै उत्कृष्ठ गाउँपालिका बनाउने उद्देश्य लिएर यो अभियान ल्याएकाले सबैले सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने बताएका छन् । गाउँपालिका अध्यक्ष लिङ्देनको सभापतित्व तथा प्रदेश सांसद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गरेका थिए ।