इनरुवा/ सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आइपास नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा एक वर्षको अवधिमा एक हजार २ सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा मात्र १ हजार २ सय ९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । जिल्लाको चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष ०७१/७२ मा २ सय ९१ जना, ०७२/७३ मा ७ सय ५६ जना, ०७३/७४ मा ९ सय ३६ जना र ०७४/७५ मा १ हजार २ सय ९३ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
आर्थिक वर्ष ०७४/७५ को साउन महिनामा १ सय ३ जना, भदौ महिनामा ७३ जना, असोजमा ७० जना, कात्र्तिकमा ९६ जना, मङ्सिरमा ८२ जना, पुसमा १ सय ३९ जना, माघमा १ सय ४८, फागुनमा ८९ जना, चैत्रमा १९, बैशाखमा १ सय १२, जेठमा १ सय ३३ र असारमा १ सय २६ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका आलमले बताए । महिलाहरूमा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे जानकारी, निःशुल्क गर्भपतन सेवाको शुरूआत, १२ हप्ताभन्दा माथि अवधिको सेवाको शुरुआत, औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत, सुरक्षित गर्भपतन सम्बन्धी तालिम लगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताइएको छ ।
तथ्याङ्कलाई हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको देखाए पनि असुरक्षित रूपमा गर्भपतन गराउनेको सङ्ख्या झन बढी रहेको स्थानीय बताउँछन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपत गराउनेको सङ्ख्या बढी रहेको अनुमान गरिएको छ ।