रङ्गेली/ पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले विधि र प्रक्रिया पूरा गरी सबै पक्षको सहभागितामा निर्माण भएको वर्तमान संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन् ।  प्रदेश १ ले विराटनगरमा आइतबार आयोजना गरेको प्रदेश सभाको प्रभावकारिता अभिवृद्धिका लागि सदस्यहरूको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले संविधानको कार्यान्वयनमा प्रदेश सभासद्हरूको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुसार भूमिका निर्वाह गर्न सांसद्हरूलाई आग्रह गरे ।

संविधान निर्माणका क्रममा केही प्रश्नहरू उठेका भए पनि निर्माण भएको तीन वर्षमा नेपालको संविधान सबै पक्षले स्वीकार गरिसकेको भन्दै पूर्वसभामुख नेम्वाङले संविधानको अक्षरशः कार्यान्वयनबाहेक अर्को विकल्प नभएको स्पष्ट पारेका थिए ।  छिमेकी मुलुक भारतमा संविधानसभाले बनाएको संविधान सबै पक्षले स्वीकार गर्न १० वर्ष लागेको स्मरण गराएका थिए । हामीले अवलम्बन गरेको शासन प्रणाली ‘संसदीय शासन प्रणाली नै भएकाले सोहीअनुसार आफ्ना काम कारबाही र व्यवहार अगाडि बढाउन पनि प्रदेश सभासद्हरूलाई आग्रह गरे । पूर्वसभामुख नेम्वाङले भने, ‘तपाईहरूको काम कारबाही र व्यवहार संविधान, नियम कानून र संसदीय अभ्यासअनुसार नै हुनुपर्छ  ।’ कतिपय कुराहरू संविधान र नियम कानूनमा नभए पनि विगतका अभ्यासहरू हेरेर गर्नुपर्ने हुन्छ भन्दै अहिले गरेका अभ्यासहरू भोलिका लागि नजिर हुने भएकाले सोचविचार गरेर गर्न सुझाव दिएका थिए ।  संसद् हलभित्र प्रवेश गर्दा, बोल्दा र बस्दा समेत सांसद्हरूले पालन गर्नुपर्ने थुप्रै अभ्यासहरू छन्, तिनलाई कार्यान्वयन गर्नु सांसद्हरूको दायित्व भएको उनले बताए ।

कार्यक्रममा नेम्वाङले असल संसदीय अभ्यास र कानून निर्माणमा सभाका पदाधिकारी सदस्यहरूको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए । उपसभामुख डा.शिवमाया तुम्वाहाम्फेले आफ्नो निर्वाचन क्षेत्र र समूह तथा समुदायका मतदाताहरूको प्रतिनिधित्व र कानून निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका सम्बन्धमा प्रदेश १ को प्रदेश सभा सदस्यहरूलाई बताएकी थिइन् । प्रतिनिधि सभा सदस्य बिन्दा पाण्डेले प्रदेश सभा सदस्य कानून निर्माण सरकारको काम कारबाहीको निगरानी र महिला हिंसाको विरुद्धमा संसदीय समिति र सदस्यहरूको भूमिका विषयमा आफ्नो धारण राखेकी थिइन् । कार्यक्रममा प्रदेश १ का सांसद्, मन्त्री र सभामुखलगायतको सहभागिता रहेको थियो ।