
धरान/झापाको बिर्तामोडमा २२ वर्षीया एक महिलाको सङ्कास्पद मृत्यु भएको छ ।
बिर्तामोड–४ अदुवाखोलाकी रोशनी साह रौनियारको दाइजोको निहुँमा हत्या गरी झुण्ड्याएको पीडित परिवारको दाबी छ । रोशनीको मङ्लबार साँझ ४ बजेतिर घर मै झुण्डिएको अवस्थामा शव फेला परेको थियो । त्यसदिन छठ पर्व रहेको थियो । मृतक रोशनीको ८ महिनाको छोरो छ । मृतकका बुबा अशोक साह रौनियारले छोरीलाई हत्या गरी आत्महत्या गरेको भन्ने बनाउन घरमा झुण्ड्याएको दाबी गरे ।
तर, पीडक पक्ष भने उनको दाबीलाई मान्न तयार छैनन् । पीडक परिवारका अनुसार रोशनीले यसअघि तीनपटक आत्महत्याको प्रयास गरेकी थिइन् । ‘यो चौथो पटक हो ।’ सासु सावित्रा साह रौनियारले भनिन् । उनका अनुसार छोरो जन्माएपछि बुहारी रोशनी अचानक मानसिक रोगबाट गुज्रिएकी थिइन् । चिकित्सकलाई यसबारे बुझ्दा सयौंमध्ये एकमा यस्तो रोग देखापर्ने बताएको उनले बताइन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसुति विभागका चिकित्सकहरूका अनुसार प्रशुति पछि हुने यस्तो खाल्को समस्यालाई ‘पोष्टपार्टम साइकोसिस’ भनिन्छ । यो समस्या २५ देखि ३० प्रतिशत गर्भवती महिलामा देखा पर्न सक्ने अनुसन्धानले देखाएको चिकित्सक बताउँछन् । त्यसमध्ये ५–१० प्रतिशतमा लामो समयसम्म पूर्णतया रोग निको हुँदैन । बेलायतको लण्डनस्थित रोयल कलेज अफ साइक्याट्रिक लेख्छ, ‘प्रत्येक सय गर्भवती महिलामध्ये १० देखि १५ जनामा यो समस्या देखिन्छ ।’

इलाका प्रहरी कार्यालय बिर्तामोडले पनि हत्या वा आत्महत्या हो त्यसबारे पोष्टमार्टमको रिपोर्ट नआइञ्जेल बताउन नसक्ने जनाएको छ । इप्रका बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाले फोन सम्पर्कमा भने, ‘पोष्टमार्टम रिपोर्ट नआइञ्जेलसम्म यसैभन्न सकिदैन ।’
पीडित परिवारले इप्रका बिर्तामोडमा ज्वाइ सुरज साह रौनियार, सासु सावित्रा, देवरलगायतको नाममा किटानी जाहेरी दिएको छ । ‘बुधबार किटानी जाहेरी दिएका छौं ।’ मामा रणधीर गुप्ताले फोनसक्पर्कमा भने । उनले पनि ज्वाइले आफूसँग आएर कहिले मोटरसाइकल, कहिले ३ लाख रुपैयाँ माग्ने गरेको दाबी गरे । जाहेरी दिए पनि प्रहरीले कारबाही प्रक्रियाअघि नबढाएको पीडित परिवारको आरोप छ ।
रोशनीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार पोष्टमार्टम भएको छ । तर, रिपोर्ट आउन केही दिन लाग्ने भएकाले पनि घटनाको तथ्य बाहिर आउन केही समय लाग्ने भएको छ । पीडित परिवार भने पटक–पटक दाइजोका लागि दवाव दिँदै आएकाले हत्या नै गरेको बताउँछन् । मृतकका बुबा अशोकले आफूसँग पनि धेरैपटक छोरी पैसा माग्न अाएकाे बताए ।
‘म सागसब्जी बेच्ने मान्छे, मसँग कहाँबाट पैसा हुन्छ ? । छोरी घरमा पैसा भन्दै आउँथिन् ।’ उनले ब्लाष्टकर्मीसँग भने, ‘एकपटक ३ लाख रूपैयाँ चाहियो भन्दै आइन् ।’ उनले आफ्नो छोरीलाई हत्यापछि झुण्डाएको दाबी गरे । रोशनी झुण्डिएको स्थान टेबल तथा कुर्सी राखेपछि पनि भेट्न नसकिने अवस्था रहेकाले हत्याको आशङ्का रहेको उनका मामाहरू बताउँछन् ।
प्रहरीले रोशनीको शव जनप्रतिनिधि, स्थानीयको रहोबरमा निकालेको थियो । रोशनी झुण्डिएको समय र मितिमा उनको श्रीमान साथमै रहेका थिए । ‘म छठ मान्नको लागि छोरीको घर भद्रपुरतिर गएको थिएँ ।’ सासु सावित्रा भन्छिन्, ‘खोला पस्न लाग्दा छिमेकीले मलाई फोन ग¥यो । र छठ नमानी फर्किएँ ।’ उनले बुहारी रोशनीसँग कुनै पनि खाल्को यातना तथा एक रूपैयाँ पनि दाइजो नमागिएको दाबी गरिन् । सुरज भने इलाममा फलफूल बेच्दै आएका छन् ।