विजयपुर । सुनसरी प्रहरीले करिब १५ लाख २० हजार रुपैयाँ बराबरको अवैध रूपमा ल्याइएको खरबुजाको बीउ बरामद गरेको छ ।
प्रहरीका अनुसार बर्जु गाउँपालिका–२ स्थित केशलिया खोला क्षेत्रमा विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा बीउ बरामद गरिएको हो । सुनसरी प्रहरीका अनुसार सवारीसाधन चेकजाँच गर्ने क्रममा ३८ बोरा खरबुजाको बीउ फेला परेको हो । बरामद गरिएको बीउको कुल तौल १ हजार ५ सय २० किलोग्राम रहेको छ । प्रहरीका अनुसार बरामद बीउको अनुमानित मूल्य १५ लाख २० हजार रहेको छ ।
अवैध रूपमा ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको बीउलाई इलाका प्रहरी कार्यालय दुहवीमा ल्याइएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामग्रीलाई सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सीमा क्षेत्रबाट भन्सार छली गरी अवैध रूपमा ल्याइने सामग्री नियन्त्रण गर्न प्रहरीले मुख्य सडकखण्ड तथा सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ ।

































