पाल्पा । चार दिनसम्म परेको लगातार वर्षापछि पाल्पाका विभिन्न ठाउँमा पहिरो जाने र जमिन चिरिने समस्याले बस्ती जोखिममा परेका छन्। वर्षा रोकिए पनि जोखिममा रहेका परिवारमा त्रास कायमै छ।

रिब्दीकोट–सिरुखर्कका मीनबहादुर थापाको घरमुनिबाट पहिरो खसेपछि परिवार केही दिन आफन्तकोमा बस्नुपरेको थियो। अहिले घर फर्किए पनि घरमाथि र तल जमिन चिरिएकाले उनीहरू डरमा छन्।

तिनाउ–कचलका थर्कबहादुर सारुको घर पनि पहिरोको जोखिममा छ। घर र बारीमा क्षति पुगेपछि उनी राति छिमेकीको घरमा बस्दै आएका छन्। माथागढी–४ देवगीरमा करिब २०० मिटर सडक चिरिएपछि करिब ३० घर जोखिममा परेका छन्।

पाल्पामा वर्षाका कारण ३३ घरमा क्षति पुगेको र ६८ घर जोखिममा परेको प्रारम्भिक विवरण छ। जोखिममा रहेका २० परिवारका ९० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

माथागढी–४ देवगीर क्षेत्रमा जमिन चिरिएपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। भूगर्भविद्को अध्ययनपछि जोखिमको वास्तविक अवस्था पत्ता लगाउने तयारी गरिएको छ। अध्ययन पूरा नभएसम्म त्यहाँ ठूला तथा भारी सवारी सञ्चालनमा रोक लगाइएको छ।

चार दिनको वर्षाका कारण पाल्पामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। माथागढी–३ कसेनी भैँसीकट्टा, माथागढी–२ रुप्से रजौली र रिब्दीकोट–६ ठिमुरेमा गरी पाँच जनाको ज्यान गएको हो।

पहिरो र बाढीले ग्रामीण सडक तथा पुलमा समेत क्षति पुर्‍याएको छ। सडक अवरुद्ध हुँदा दूध, तरकारी र खुर्सानी बजारसम्म लैजान नसक्दा किसान समस्यामा परेका छन्। कालीगण्डकीको बाढीले रामपुर–३ केलादीको मोटरेबल पुलमा क्षति पुगेपछि आवागमन रोकिएको छ।

बाढीले पाल्पाका विभिन्न क्षेत्रमा धानबालीमा पनि क्षति पुर्‍याएको छ। कृषि ज्ञान केन्द्रका अनुसार ३०० भन्दा बढी किसानको खेती प्रभावित भएको छ। वर्षा रोकिए पनि पहिरोको जोखिम र क्षतिको चिन्ताले स्थानीयको दैनिकी प्रभावित बनेको छ। रासस