विजयपुर/महेन्द्र क्याम्पसको स्वामित्वको धरान–११ पानीट्यांकीको जग्गामा मोहीले भू–माफियाहरूले चलखेल गरेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आरोप लगाएका छन् ।

विद्यार्थीहरूले सोमबार क्याम्पसमा पत्रकार सम्मेलन गर्दै मोहीको नाममा भूमाफियाले चलखेल गर्न लागेको बताएका हुन् । पानी ट्यान्कीमा क्याम्पसको १७ कठ्ठा १८ धुर जग्गा रहेको छ । २०३५ सालदेखि शिक्षक आवास गृह, विद्यार्थी होस्टेल, कर्मचारी भवन र वहृउद्देश्यीय भवन रहेको छ ।

मोहीको नाममा मिलेमतो गरी क्याम्पसको जग्गा कब्जा गर्न खोजे यसको प्रतिरोध गर्ने विद्यार्थीहरूले बताए । सम्मेलनमा बोल्दै स्ववियु सचिव दोर्ची शेर्पाले ४१ वर्षपछि एकाएक मोही भेटिनु, धरान–११ ले जग्गाको हकवालाको नामसारीका लागि सिफारिस दिनु र मोहीको हकदाबी गर्ने यज्ञबहादुर घिमिरेले नामसारीका लागि भूमिसुधार कार्यालय सुनसरीमा दर्ता गर्नु यो सबै प्रक्रिया मोहीको हकदार घिमिरेले मात्र नगरेको उनको आरोप छ ।

अर्का विद्यार्थी रविन श्रेष्ठले त्यस्ता कार्यमा लाग्ने जोकाहीलाई सच्चिन आग्रह गरे । सार्वजनिक सम्पत्तिमाथि कसैले हकदाबी गरेर नपाइने बताउँदै सार्वजनिक सम्पत्ति बचाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा क्याम्पसका स्ववियु सभापति सरगमसागर चेम्जोङ अनेरास्ववियुका इकाइ अध्यक्ष सुजन खत्री, संघीय समाजवादी फोरमको विद्यार्थी संगठन इकाइ उपाध्यक्ष विना राईलगायतले भूमाफियाविरुद्धमा जस्तासुकै कदम चाल्न पछि नहट्ने बताए ।