तेह्रथुम/ सामुदायिक विद्यालयलाई शिक्षा क्षेत्रमा सुधार गर्नका लागि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि, शिक्षक र अभिभावकले प्रतिबद्धता जनाएका छन् ।
सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि भएको जिल्लास्तरीय सम्मेलनमा सहभागी जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र अभिभावकले शैक्षिक सुधारका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नेमा जोड दिएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ र एक्सन एड नेपालसँगको सहकार्यमा देउराली सोसाइटी र दलित सचेतना समाज नेपालले आयोजना गरेको सार्वजनिक शिक्षाको सुदृढीकरणमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा शिक्षामा सुधारका लागि प्रतिबद्धता जनाएका हुन् ।
स्थानीय तहले शैक्षिक सुधारका लागि यस क्षेत्रका समस्या र अभिभावकको चाहना अनुरूपको शिक्षा नीति तयार गरी लागू गर्नुपर्ने, सबै बालबालिकालाई अनिवार्य शिक्षा सुनिश्चित गर्नुपर्ने, पूर्ण निःशुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्नुपर्ने लगायतमा सहमति जनाएका छन् ।
स्थानीय तहले सुरक्षित विद्यालय र वातावरण निर्माण तथा बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने, विषयगत शिक्षक व्यवस्थापन, उत्कृष्ट कर्मचारीलाई पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्था तथा बालश्रम तथा बालविभेदको अन्त्य गर्नुपर्ने कुरामा सहमत जनाएका छन् ।
सम्मेलनबाट जारी घोषणा पत्रमा सबै स्थानीय तहले शैक्षिक तथ्याङ्कलाई व्यवस्थित गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा स्थानीय तहका शैक्षिक अधिकारहरू, स्थानीयस्तरमा भएका शैक्षिक सुधारका प्रयासहरू, शैक्षिक सुधारका लागि स्थानीय तहको भूमिका, सामुदायिक विद्यालयको अवस्था, समस्या र सुधारका उपायहरू तथा प्रदेश सरकारले शैक्षिक सुधारका लागि गरिरहेका प्रयत्नका विषयमा छलफल भएको छ ।
कार्यक्रममा नगर शिक्षा अधिकृत भीमप्रसाद मिश्र, जिविस पूर्व सभापति किशोरचन्द्र दुलाल र प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयका तारा शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भवानीप्रसाद खापुङले संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै शैक्षिक सुधारका लागि स्थानीय तहकै महत्वपूर्ण भूमिका हुने बताए ।
उनले शैक्षिक सुधारका लागि शिक्षक र अभिभावकलाई आ–आफ्नो दायित्व बोध हुनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुङ्गाना, म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू, फेदाप गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापा, एक्सनएड नेपाल विराटनगरका कार्यक्रम प्रमुख विष्णु शर्मा, नेपाल शिक्षक महासङ्घ तेह्रथुमका अध्यक्ष रामप्रसाद तिम्सिनालगायत जनप्रतिनिधिले शैक्षिक सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्