धरान/धरान–२० स्थित भालढुङ्गा माविका विद्यार्थीहरूलाई रजस्वलासम्बन्धी ज्ञान प्रदान गरिएको छ ।
स्कुले छात्राहरूमा रजस्वालासम्बन्धी ज्ञानको अभावमा उनीहरू स्कुल नआउनेसम्मको समस्या हुने गरेकाले त्यसको निराकरणका लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थीहरूले ज्ञान बाडेका हुन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई हात्तिसारको माइक्रोबायोलोजीको तेस्रो वर्षमा अध्ययरत विद्यार्थीहरूले जानकारी गराएका हुन् ।
त्यस्तै ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई पनि यसबारे जानकारी गराइएको थियो । तेस्रो वर्षमा अध्ययरत छात्राहरूले पहिलो पटक रजस्वाला हुदाको अनुभवसमेत सेयर गरेका थिए । विद्यार्थी अवस्थामा आइपर्ने समस्याको निराकरणका लागि उनीहरूले उपायबारे पनि सुझाएका थिए । त्यसक्रममा बिएस्सी माइक्रोबायोलोजी तेस्रो वर्षमा अध्ययरत आशिष श्रेष्ठले विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्दै आफ्नो जन्मदिन पनि मनाएका थिए ।
विद्यार्थीहरूले रजस्वालाका समयमा हुने समस्यालाई शिक्षक तथा साथीहरूसग सहजै राख्न सकुन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको श्रेष्ठ बताउँछन् । त्यसक्रममा हात्तिसारका विद्यार्थीहरूले ८१ थन सेनेटरी प्याडसमेत प्रदान गरेका थिए । हात्तिसारका विद्यार्थीहरूलाई छात्राहरूलाई लक्षित गर्दै जनचेतनामूलक कार्यक्रम गरिएकोमा शिक्षक सुरेन्द्र अधिकारीले धन्यवाद ज्ञापन गरे । यसक्रममा स्कुलका छात्रा सोनु राईले सचेतना कार्यक्रम आफूहरूका लागि उपलब्धीमूलक बनेको बताइन् । कक्षा ६ देखि १२ सम्मका करिब एकसय ५० विद्यार्थीहरू कार्यक्रममा सहभागी थिए ।